प्रधानमन्त्री प्रचण्ड धोकेवाज नेता हुन् : योगेश भट्टराई

मुगु । नेपाल कम्युनिष्ट पार्टी (एमालेका) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेवाज नेता भएको बताएका छन् । नेपाल पत्रकार महासंघ मुगु शाखाद्वारा आयोजित नेकपा (एमालेका) का पार्टी सचिव भट्टराईसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहाल धोकेवाज नेता हुदाँहुँदै एमालेले विश्वास गर्नु गलत भएको बताए ।

राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई धोका दिएको उनले आरोप लगाए । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भए पनि त्यसको विपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् ।
गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ । तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्याए ।

गायिका एलिना चौहानले ‘धोकेवाज हौ तिमी, धोकवाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ । नेकपा एमाले राष्ट्रवादी पार्टी हो भन्ने देशी विदेशी शक्तिलाई थाहा हुदाँ पनि सबै लागेको उनको भनाई छ ।

नेकपा एमालेको राष्ट्रव्यापी प्रभाव जो छ एक्लैले बहुमत ल्याउने जनलहर देखेपछि विचार नमिल्लेहरुसँग गठबन्धन गरेर प्रचण्डले त्यसलाई रोक्नका लागि कांग्रेससँग गठबन्धन गरेको र अन्तिममा प्रधानमन्त्री पद नपाउने देखेपछि नेकपा एमालेसँग आएर सत्ता साझेदार गर्ने भन्दै पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउनु गलल भएको सचिव भट्टराईले बताए ।

त्यसैले प्रधानमन्त्रीको अनैतिक काम देखेपछि सत्ता समिकरणमा बस्नु औचित्य नभएपछि प्रधानमन्त्री लाई दिइएको सर्मथन फिर्ता लिइएको उनले बताए । बिचार नमिल्लेसँगको गठबन्धन भएको र यो सरकार पाँच वर्ष टिके पनि आफ्नो पार्टीसँग कुनै मतलब नभएको भट्टराईले बताए ।

साथै, उनले नेपाल कम्युनिष्ट पार्टी एमाले सरकार ढाल्ने–गिराउनेतर्फ कुनै अग्रसर नहुने र बरु जनताका मुद्दामा सदन र सडकमा खबरदारी गदै सशक्त प्रतिपक्षको भूमिकामा रहँदै संविधान लोकतन्त्रको रक्षा गर्ने बताए । उनले देशको आर्थिक अवस्था गत दुई वर्षदेखि दिनानुदिन खस्कँदै गएको र त्यसप्रति सरकार बेखर भएको आरोप लगाए ।

प्रतिक्रिया