तीन तहको सरकारसँग जवाफ माग्दै शान्ति समाजको प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘जातीय विभेद, छुवाछुत, मानवता विरुद्धको अपराध, दोषीमाथि किन कारवाही हुँदैन ? जवाफ देउ तीन तहको सरकार’ भन्दै विभिन्न जिल्लामा प्रदर्शनलगायत कार्यक्रमहरु गरेको छ ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च) का सन्दर्भमा स्थापना कालदेखि नै ‘दलित अधिकार, मानव अधिकार’ भनेर अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा चैत्र ७ गते १७ जिल्लामा कार्यक्रम सम्पन्न भएको हो ।

यस क्रममा शान्ति समाजका गोरखा, पाल्पा, संखुवासभा, तेह्रथुम, काठमाडौं, रुपन्देही, चितवन, दाङ, सल्यान, बाँके र कैलाली शाखाले जातीय विभेद उन्मूलन गरौँ, समतामुलक समाज निर्माण गरौँ, छुवाछुत, मानवताविरुद्ध अपराध हो, छुवाछुतमा संलग्नलाई कानूनी कारवाही गर’जस्ता लेखिएका प्लेकार्डहरुसहित प्रदर्शन गरेका थिए भने वीरेन्द्रनगरमा संयुक्त रुपमा आयोजित र्यालीमा सुर्खेत शाखाको सहभागीता रहेको थियो ।

यसैगरी शान्ति समाजका दैलेख, गुल्मी, अछाम, कपिलवस्तु र अर्घाखाँची शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । काठमाडौंको जोरपाटीमा आयोजित प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बरालले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मूलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश समृद्ध नहुने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा संघीय सांसद सन्तोष चालिसे, वागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा लगायत जनप्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्ति समाजका पूर्वसभापति होमकान्त चौलागाइ, कोषाध्यक्ष किरण ढकाल, केन्द्रिय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनीसहित दर्जनौँ अधिकारकर्मीहरुको सहभागीता थियो ।

यसैगरी रुपन्देहीको तिलोत्तमामा आयोजित प्रदर्शनमा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले कानूनको पालना गर्नु नै सबैको दायित्व भएको र अझै पनि जातीय विभेद–छुवाछूतका घटना बाहिर आउनु दुःखद रहेको बताए ।

शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार गोविन्द खनालले समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । रुपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण) ले विभेदका घटनाका दोषीमाथि कारबाही नभएको भन्दै तीन तहकै सरकारले यसको जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया