न्याय नपाए पनि प्रविण गुरुङ खोजी रहन्छ लुम्ले (भिडियाेसहित)

पोखरा । गायक प्रविण गुरुङले केही सकेन्डअघि मात्र दरवार मार्गको एक गजलमा गीत गाएका थिए ‘…नरोउ मायालु ’। उनी त्यो गीत गाइसकेपछि मोटरसाइकल चढेर आफ्नो घरतिर लाग्दै थिए । एक्कासि एउटा चिल्लो भिआइपी गाडी तीव्र गतिमा आयो । त्यहि गाडीले उनको मोटरसाइकललाई ठक्कर दियो । एक छिनअघि ‘नरोउ मायालु’ भनेर गीत गाएको उनले त्यसको केही समयपछि नै सबैलाई रुवाए । किनकि उनको त्यहीँ निधन भयो । र उनले त्यहाँ गाएको जीवनको त्यो नै अन्तिम गीत बन्यो ।

झण्डै २४ वर्ष अघिको यो एउटा घटना हो । तर यसले राजनीतिदेखि मेलापात, दरबारदेखि छाप्रासम्म सबैलाई बेलाबेलामा चस्काउँदै आएको छ । र अहिले पनि त्यो घाउ कतै न कतै चस्कने गरेको छ । उनको गाउँमा पुगेर हेर्दा लाग्छ प्रविण गुरुङ जीवितै छन् । उनको घर नजिकै राखिएको शालिक हेर्दा लाग्थ्यो – अझै पनि प्रविण गुरुङ गीत गाइरहेका छन, ‘नरोउ मायालु’ ।

गुरुङले त्यसबेला लोक गायन र गजल क्षेत्रमा निकै योगदान दिए । तत्कालीन शाहज्यादा पारस शाहले चलाएको गाडीको ठक्करबाट काठमाडौंको दरबारमार्गमा उनको प्राण पखेरु उड्यो । लोकगायक स्व.प्रविण गुरुङको परिवारले दुई दशकपछि पनि न्याय पाएको छैन । आश्वासनको पोको च्यापेर नै यो समय बितेको उनको परिवारको गुनासो छ ।

उनी सामान्य परिवारका छोरा थिए । उनी कुनै दरबारका राजकुमार थिएनन् । थिए त केवल आफ्नै स्वाभिमानका राजा । उनको निधनमा तत्कालीन शाह ज्यादा पारसको हात थियो भन्ने कुरा ऊ बेला नै जगजाहेर भएको थियो । तर शक्तिको अगाडि उनको मरणको कुनै मूल्य बनेन । त्यसैले उनलाई आश्वासनका अनेक पोका थमाइयो । समय काल हेर्दा हेर्दै ती पानीको फोकाजस्ता बने । राजपरिवारसँग जोडिएकाले ज्यान जोखिममा राखेर न्यायको लडाइँ लड्न नसकेको प्रविणका काइँला दाई टेकबहादुर गुरुङ बताउँछन् ।

झन्डै २४ वर्षअघिको यो एउटा घटना हो । तर यसले राजनीतिदेखि मेलापात, दरबारदेखि छाप्रासम्म सबैलाई बेलाबेलामा चस्काउँदै आएको छ । र अहिले पनि त्यो घाउ कतै न कतै चस्कने गरेको छ । उनको गाउँमा पुगेर हेर्दा लाग्छ प्रविण गुरुङ जीवितै छन् । उनको घर नजिकै राखिएको शालिक हेर्दा लाग्थ्यो – अझै पनि प्रविण गुरुङ गीत गाइरहेका छन्, …नरोउ मायालु

स्व.प्रविणको जन्मघर कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा सौर्यसँग कुरा गर्दै नाबालक दुई छोराको पढाइलेखाइको सम्पूर्ण दायित्व लिने भनी गरेको सम्झौता पनि पारसले कार्यान्वयन नगरेको टेकबहादुरले बताए । ‘प्रविणका दुई नाबालक छोराको सम्पूर्ण दायित्व लिने भनेर पारसले गरेको सम्झौता लागू भएन, उनले भने, ‘राजदरबारसँग जोडिएको घटना भएकोले हामीले पनि ज्यान जोखिममा राखेर आवाज उठाउन सकेनौँ ।’ नारायणहिटी गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र र उनको परिवार नै सखाप भएपछि त त्यो कुरा उठाउन पनि डरमर्दो भएको उनको भनाइ छ । ‘बुहारी एक्लै लड्न पनि डरै भयो, हामी पनि गाउँतिरै भयौँ’, टेकबहादुरले भने ।

दरबारसँग लडेर स्व.प्रविणलाई न्याय दिलाउन नसके पनि परिवार र गाउँलेले उनको योगदानको स्मरण गर्न भने छोडेका छैनन् । प्रवीण गुरुङ स्मृति प्रतिष्ठान गठन गरी विभिन्न कार्यक्रम गर्दै आएका छन् । गाउँपालिकाको सहयोगमा जन्म गाउँ लुम्लेमा गुरुङको शालिक निर्माण गर्ने, विभिन्न बाटो घाटो निर्माण गर्ने काम पनि प्रतिष्ठानले गरेको छ । त्यसैगरी हरेक वर्ष खुला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने गरेको समितिका सचिव राजु गुरुङले बताए । आगामी दिनमा पनि थप रचनात्मक काम गरेर प्रविणको स्मरण गरिरहने सचिव गुरुङले उल्लेख गरे ।

०१८ माघ १ गते जन्मेका गुरुङको गीत संगीतको क्षेत्रमा लाग्दालाग्दै ०५७ साउन २२ गते काठमाडौंमा अस्ताएका थिए । १० वर्षको उमेरमै घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कलामन्दिर पोखरामा नृत्य साथै गायन सिकेका थिए । तत्कालीन गण्डकी अञ्चलस्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पछि राष्ट्रिय नाचघर काठमाडौंमा पनि काम गरेका थिए ।

‘यो नानीको मिर्मिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका गीतहरू प्रचलित छन् । कालजयी गीतका गीतकार तथा संगीतकार स्व.प्रवीण गुरुङको मोटरसाइकललाई काठमाडौंको दरबारमार्गमा पारसले चलाएको गाडीले ठक्कर दिएको थियो । ०५७ साउन २२ गते साँझको सो घटनामा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

तत्कालीन आइजिपी अच्युतकृष्ण खरेलले निकालेको जुक्तीअनुसार नक्कली ड्राइभर खडा गरी पारसलाई जोगाइएको थियो । आइजिपी खरेलकै सल्लाहअनुसार खड्गबहादुर भुजेल नामका एक नक्कली ड्राइभर खडा गरियो र उनले दुर्घटनाकोे जिम्मा लिए । कानुनी प्रक्रियाअनुसार उनी जेल बसेर रिहा पनि भइसकेका छन् । दरबारले गर्ने भनेको कुनै पनि सहयोग नगरेको भनेर जेलबाट छुटेपछि भुजेलको गुनासो पनि त्यसैबेला सार्वजनिक भएको थियो ।

यो घटनालाई दबाउन निर्मल निवासले निकै प्रयास गरे पनि घटना सार्वजनिक भएपछि पारसलाई कारबाही गर्नुपर्ने मागसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिए । तत्कालीन माले निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष रविन्द्र अधिकारीको नेतृत्वमा हस्ताक्षर अभियान नै चलाइएको थियो । अधिकारीको नेतृत्वमा ५ लाख २३ हजारको हस्ताक्षर दरबारमा बुझाइएको थियो ।

भलाद्मी छवि बनाएको तत्कालिन राजा वीरेन्द्रले आफू यस विषयमा गम्भीर भएको भन्दै अधिकारीलाई लिखित जवाफसमेत पठाएका थिए । तर, पारसले कारबाही भने भोग्नु परेन । केही समयपछि ०५८ को नारायणहिटी हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएपछि यो घटना पनि सेलाएर गयो ।

प्रतिक्रिया