सिस्ने शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बुढा निर्वाचित

रुकुम पूर्व । सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा जयमान बुढा निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल (क्रान्तिकारी) का बुढा निर्वाचन अघिनै स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका हुन।

उनलाई नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले समर्थन जनाएका थिए । बुढाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत बलबहादुर शाहीले जानकारी दिए ।

अखिल क्रान्तिकारीका बुढा सभापति हुँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका अबिनेश हमाल सचीवमा निर्वाचित भए । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी गिता थापा निर्वाचित भएकी छिन् ।

अखिल क्रान्तिकारीले सभापतिसहित सात, अनेरास्ववियु र नेविसंघले समान तीन तीन तथा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दुई सदस्य लिएको छ ।

निर्वाचित भएका बुढासहित सबैलाई एक कार्यक्रमको आयोजना गरि आइतबार प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृत शाहीले बताए । क्याम्पसको सर्वाङगिण विकासको लागि स्ववियुको टिम दिल खोलेर लाग्ने नव निर्वाचित सभापति बुढाले बताएका छन् ।

उपाध्यक्ष र सहसचिवको मनोनयन पछि गरिने छ । स्ववियुको पहिलो बैठकबाट उपाध्यक्ष र सहसचिवको मनोनयन गरिने सभापति बुढाले बताए ।

सिस्ने शिक्षा क्याम्पससमा सहमतिबाट स्ववियु कार्यसमिति चयन भए पनि देशका अन्य क्याम्पसमा भन्ने चैत्र ५ गते (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्व विद्यालयले देशभर चैत ५ गतेका लागि स्ववियु चुनावको घोषणा गरेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया