आलुको बिउ भण्डारण घरले किसानलाई सहज

सुर्मा गाउँपालिकामा रहेको आलुबिउ भण्डारण घर

बझाङ । सुर्मा गाँउपालिका–१ घर भएका रंगे बोहराको गत वर्ष आलुको बिउ राख्ने उपयुक्त ठाउँ नहुँदा बिउ कुहेर नष्ट भयो ।

उनी जस्तै जिल्लाका अन्य आलुखेती व्यवसाय गर्ने किसानहरुसँग आलुको बिउ राख्ने उपयुक्त ठाउँ नहँदा परम्परागत बिउ भण्डारण गर्ने चलनले कतिपय आलु बिग्रे, केही बचेका आलु बिउको लागि उपयुक्त भए ।

अहिले जिल्लामा आलुको बिउ राख्ने आधुनिक प्रविधिको रस्टीक स्टोर (आलुबिउ भण्डारण घर) बनाउँन थालेपछि सुर्माका रंगे बोहरा जस्तै अन्य किसानहरुलाई पनि बिउ भण्डारण घरले निक्कै सहज बनाएको छ । सुर्मा गाँउपालिकामा दुईवटा ‘आलुबिउ भण्डारण’ घर बनाएपछि किसानहरुले बिउको लागि छनोट गरेका आलुहरु भण्डारण घरमा राख्ने गरेका छन् ।

‘पहिला हामी बिउ राख्दाखेरी डोको बोरा, माटोको खाल्डो, काठको बाकसभित्र राख्ने गरेका थियौँ’, सुर्माका अगुवा कृषक रंगे बोहराले भने, ‘अहिले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाबाट आधुनिक प्रविधिको रस्टिक स्टोर (आलुबिउ भण्डारण घर) बनाइदिएपछि बिउ राख्न सहज भएर उत्पादनमा समेत वृद्धी भएको छ ।’

सुर्मा गाँउपालिकामा बनेका आलुको बिउ भण्डारण केन्द्र ८० क्यीन्टल क्षमतका रहेका छन् । सुर्मा जस्तै आलुखेती बढी हुने स्थान जयपृथ्वी नगरपालिकाको पुगर, तलकोट गाँउपालिकाको किदन्न, छविसपाथिभराको थलारा, विथ्थडचिरको विथ्थड पाटनमासमेत यस्ता आलुको बिउ भण्डारण घर निर्माण भएका छन् ।

परम्परागतरुपमा बझाङ जिल्लामा आलुखेती गरिँदै आएको भएपनि पछिल्लो समयमा नेपाल सरकारले बझाङ जिल्लालाई ‘आलु जोन क्षेत्र’ घोषणा गरी ‘पकेट ब्लक जोन’ क्षेत्र निर्धारण गरेको हुँदा अहिले बझाङमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना साथै जिल्ला कृषि ज्ञान केन्द्र र अन्य संघ संस्थाहरुले पनि आलु खेतिलाई जोड दिँदै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निमित्त कार्यालय प्रमुख हर्कदेव जोशीले आलुको उत्पादन बढाउन र नयाँ लगाउने विधिको जानकारी दिन परियोजनाबाट विभिन्न कामहरु भइरहेको बताए ।

आलु उत्पादन हुने गाँउ वस्तीहरमा किसानहरुलाई तालिम उन्नत बिउ, स्थानीय बिउको स्थरीकरण बिउ भण्डारण घर बिउ संकलन केन्द्र साथै आलु बजारीकरणको पनि व्यवस्थापन गरेकोसमेत जोशीले जानकारी दिए ।

अहिले बझाङ जिल्लाका अधिकांश किसान तथा बेरोजगार युवाहरु परम्परागत कृषि पेशालाई छोडेर व्यवसायीक कृषि पेशामा आकर्षण भइरहेका छन् ।

प्रतिक्रिया