व्यवस्था जोगाउन नयाँ समीकरण : इन्चार्ज ओली

रुकुम पुर्व । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल रुकुम पुर्वको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिवार सदरमुकाम रुकुमकोट स्थित बिएलबी होटेलमा एक कार्यक्रमकाबीच वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभाको उद्घघाटन माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य तेजबहादुर ओलीले गरे । सभाको उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज ओलीले परिवर्तनको विरुद्धमा देशमा दलालहरुले मोर्चा बनाएको बताएका छन् । उक्त मोर्चा र घेराबन्दीका बिरुद्ध सबै माओवादी घटक एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हामी स्वतन्त्र प्रेसको कुरा गर्दछौ । त्यो मात्रै पत्रकारिता होइन । समाज रुपान्तरणलाई केन्द्रमा राखी भएका व्यवस्था संस्थागत गर्न कलमको आवश्यक छ ।’ क्रान्तिकारी र परिवर्तनकारी पार्टीको मिसन जनताको बिचमा पुर्याउन उनले सेन्टर निकट पत्रकारलाई आग्रह गरेका छन् ।

कांग्रेस र एमाले इमानदार नहुँदा देशमा नयाँ गठबन्धन बनेको ओलीले बताए । अहिलेको व्यवस्था जोगाउन नयाँ समीकरण बनेको छ । उनले भने, ‘जनयुद्धको जगमा बनेको संविधान, संघीयता र गणतन्त्रलाई अनन्तकालसम्म लैजान राजनीतिले नयाँ मोड लिएको हो ।’ माओवादी र काङ्ग्रेस एक ठाउँमा नहुदासम्म शान्ती प्रक्रियाका बाँकि काम टुंगोमा नपुग्ने ओलीले दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुप्रेन्द्र ओलीले रुकुम पुर्व चानचुने जिल्ला नभएको बताएका छन् । रुकुम पुर्व सामान्य जिल्ला होइन । साधारणसभामा आफ्ना धारणा राख्दै उनले भने, ‘यो जिल्ला प्रेस सेन्टरको संस्थापक जिल्ला हो । परिवर्तनकारी विचार जन्मेको जिल्ला हो ।’

हिजो एउटा हातमा बन्दुक र अर्को हातमा कलम लिएर युद्धमा होमिएको जिल्ला रुकुम भएको ओलीले स्मरण गराए । पत्रकारिताको बीचबाट पाटी र संगठनका कामलाई संगै अघि बढाउनु पर्नेमा महासचिव ओलीले जोड दिएका छन ।

उनले भने, ‘हामीले गर्ने पत्रकारिता जनतासंग जोडिएको हुनुपर्छ । एजेन्डामा आधारित पत्रकारिता अहिलेको आवश्यकता हो । हाम्रो पत्रकारिताले समाजको दिशा निर्देश गर्छ । गर्नुपर्छ ।’

जनयुद्ध र जनक्रान्तीलाई प्रतिगमनका झुन्डले अतिरन्जित गर्न खोजेको भन्दै उनले असन्तुष्टि जनाए । पछिल्लो पुस्तामा जनयुद्धको गरिमा बढाउन अपरिहार्य रहेको ओलीले बताएका छन् ।

कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्ष बिक्रम परियारले संगठनको समग्र प्रतिवेदन र कोषाध्यक्ष हिक्मत प्रोतेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा रेडियो पुर्बी रुकुममा कार्यरत तीन सन्चारकर्मी प्रेस सेन्टरमा प्रवेश गरेका छन् ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया