सत्ता स्वार्थले मुलुक संकटमा फस्दै : एमाले नेता भट्टराई

प्युठान । नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राजनीतिक स्थायित्वको लागि दलहरु जिम्मेवार र जनता प्रती जवाफदेही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले सत्ताको लागि राजनीतिक मुल्य मान्यता बिपरित काम नगर्ने बताएका हुन ।

देशमा बिकास र शुसासनको लागि राजनीतिक स्थायित्व आवश्यक भएपनि केही नेताहरुको सत्ता स्वार्थका कारण मुलुक अस्थिरता तर्फ बढेको उनको जिकिर थियो । सम्भावित चरम आर्थिक संकट प्रती सरकार उदासीन भएको उनले आरोप लगाए ।

नेपाली कांग्रेससँग मिलेर एमालेले सरकार बनाउने चर्चा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले त्यो बिषयमा अहिले कुनै छलफल नभएको स्पष्ट पारे । उनले अहिलेको मुलुकको अबस्था सुधार्न दलहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । एमालेले संसदीय मुल्य मान्यता अनुसार प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए । उनले भने, ‘हामी रचनात्मक प्रतिपक्षीको रुपमा काम गर्छौं ।’

कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य प्युठान इन्चार्ज तथा सांसद सुर्य थापा, लुम्बिनी प्रदेश सरकारका मन्त्री तुल्सिराम शर्मा, जिल्ला पार्टी अध्यक्ष बिजयबिराज बिष्ट लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष बासुदेब गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

के हो ग्रास रुट अभियान ?

एमालेले सन्चालन गरेको मिसन ग्रासरुट अभियान पार्टी बिस्तारको अभियान भएको उनले बताए । लुम्बिनी प्रदेशका मिसन ग्रासरुट अनुगमन समितिका संयोजक समेत रहेका भट्टराईले जिल्ला र पालिका तहको कार्यक्रम सप्पन्न भएको जानकारी दिए ।

पार्टीलाई बैचारिक र संगठनात्मक रुपमा सुदृढ गरि मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूती गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न दुई महिने विशेष अभियान संचालन गरिएको उनले बताए । ‘हामीले संगठन सुदृढीकरण गर्दैछौं’, उनले भने, ‘५१ प्रतिशत जनमत निर्माण गर्ने उद्देश्य छ ।’ मिसन ग्रासरुट अभियानमा प्युठानमा केन्द्रीय सदस्य इश्वरी जिएम, गिरिधारीलाल न्यौपाने र घनश्याम पाण्डे खटिएका छन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया