बझाङ । जिल्लामा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी ट्रेडिङ प्रालिमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सोमबार विभिन्न सञ्चार माध्यममा ‘आरएनसी ट्रेडिङ प्रालिको नेटवर्किङ बिजनेसका कारण स्थानीयहरू ठगिँदै’ भन्ने समाचार प्रसारण प्रकाशित भएपछि मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोदबहादुर चन्दको नेतृत्वमा उक्त संस्थाको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा उक्त संस्थाले नियम विपरीत काम गरिरहेको फेला पारेपछि आजकै मितिदेखि नै बन्द गर्न निर्देशन दिइएको छ । प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजतसम्बन्धी व्यवस्थाअनुसार आरएनसी ट्रेडिङले परिच्छेदको दफा ३ बमोजिम इजाजत प्राप्त नगरी वस्तुको प्रत्येक्ष बिक्रीवितरणसम्बन्धी कार्य गरेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै कम्पनीका प्रकाशबहादुर चन्दको नाममा नगरपालिकामा व्यवसाय दर्ता भएको, स्थायी लेखा नम्बर, कम्पनीको रजिस्ट्रारको कार्यालयमा दर्ता नभएको र घरेलु तथा साना उद्योग कार्यालय बझाङमा समेत दर्ता नभएको पाइएको बताइएको छ ।
अनुगमन टोलीको रोहबरमा प्रक्रियागत ढंगबाट सञ्चालन नभएको आरएनसी ट्रेडिङ कार्यालयलाई आजकै मितिदेखि बन्द गर्ने निर्णय गरिएकोको अनुगमन समितिका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चन्दले बताए ।
सदरमुकाम चैनपुरमा खोलिएको आरएनसी प्रालिले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहन गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत अर्को नयाँ व्यक्तिलाई ग्राहक बनाउन हौस्याउने र आफ्नो सञ्जालअन्तर्गत बिक्री गरे बापत कमिसन दिने भन्दै पिरामिड संरचनाको कार्यक्रममार्फत ठगी गरिरहेको यस कम्पनीमा जिल्लाका दुई सयभन्दा बढी मानिस आबद्ध भइसकेको बझाङ शाखा प्रमुख बताउने प्रकाश चन्दले बताएका थिए ।
बझाङ
प्रतिक्रिया