चर्को व्याजदरविरुद्ध व्यवसायी आन्दोलित

धनगढी । बैंकको चर्को व्याजदरबिरुद्ध उद्योगी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कैलाली उद्योग वाणिज्य संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । बैंक तथा बित्तीय संस्थाहरूको चर्को व्याजदर र राष्ट्र बैंकको अव्यावहारिक नीतिका विरुद्ध फागुन १५ सोमबारदेखि २० गतेसम्म संघर्षका कार्यक्रम गर्न लागेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदर र राष्ट्र बैंकको अव्यावहारिक नीतिका कारण व्यवसायीहरू सडकमा आउन वाध्य भएका छन् ।’

संघर्षका कार्यक्रमअन्तर्गत फागुन १५ देखि प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने र उक्त समयमा विरोध ¥याली गर्ने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । हरेक दिनमा विभिन्न निकायमा नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन, बजारका चोकहरू, कार्यालय अगाडि विरोध प्रदर्शन गर्नुका साथै बजारका विभिन्न चौकमा भेला, कोणसभा गर्ने जनाइएको छ ।

फागुन १८ गते बैंकहरूमा कारोवार नगर्ने (नो डिपोजिट), फागुन २० गतेसम्म प्रदेश भरिका सम्पूर्ण उद्योग वाणिज्य संघहरूबाट संघर्ष समिति निर्माण गर्ने संघले जनाएको छ । फागुन महिनाभित्र पनि माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । प्रदेशका सबै जिल्लाहरूमा आन्दोलन गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया