सडक ढलान ६ महिनादेखि अलपत्र

खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले ०७८ असार ३० गतेसम्ममा सक्नेगरी ०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो ।

निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम रोकेर अलपत्र पारेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए । ‘प्रदेश सरकारको २ करोड ६९ लाख २५ हजार ७ सय ९७ को लागतमा खोटाङबजारको सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लगाइएको थियो’, उनले भने, ‘गुणस्तहीन काम भयो भन्ने गुनासो आएपछि अनुगमन गरेर ढलानको काममा रोक लगाएका थियौँ । त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म बेपत्ता छ । गत असारदेखि काम ठप्प छ ।’

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसी ढलान र करिब ६ सय मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिट्टी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि राखिएको सोलिङ राम्ररी नगरिएको गुनासो आएको थियो ।

सडक ढलानमा प्रयोग गर्न ल्याइएका गिट्टी र बालुवा छुट्याउन नसकिने अवस्थाको रहेको खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुयालले बताए । ‘बनिसकेका ड्रेन र मेसिरेनरी पर्खाल भत्किन थालेको छ’, उनले भने, ‘ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिट्टी र रडका कारण बजारमा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । यसप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी छ ।’

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्ने गरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका क्षेत्रका परम्परागत घरहरू (ढुंगामाटोको घर)लाई असर गर्ने जनाउँदै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्ने गरी काम अघि बढाइएको थियो ।

परिवर्तित डिजाइनअनुसार २ नम्बर धाराबाट इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धाराबाट गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको थियो । सम्झौता म्याद नाघेको १८ महिना बितिसक्दा आयोजनाको करिब ६० प्रतिशत मात्र काम सकिएको अनुमान गरिएको छ ।

निर्माण कम्पनीले दुईपटक थप भएको म्याद गुजारिसकेको सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ ।
०२० सालसम्म जिल्लाका सम्पूर्ण प्रशासनिक कार्यालयहरू रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबर देखिएका छन् । सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुन सकेको छैन ।

अलपत्र अवस्थामा सडक ढलानको काम छाडेर हिँडेका ठेकेदारलाई दसैँ–तिहारपछि काममा फर्काउने गाउँपालिकाले बताए पनि अहिलेसम्म फर्किएका छैनन् । ठेकेदारले ढलान गर्न बिछ्याइएको ठाउँबाट फलामेरड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया