पाँचथरमा साहित्यिक पुरस्कार मुकारुङ र ओझालाई प्रदान

पाँचथर । फिदिममा एक समारोहबीच बिहीबार साहित्यिक पुरस्कार साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ‍ओझालाई प्रदान गरिएको छ ।

२०७५ सालमा दिवंगत भएका पाँचथरका साहित्यकार, राजनीतिज्ञ तथा समाजसेवी स्व. अमर नेम्वाङ लिम्बूको स्मृतिमा वितरण गरिँदै आएको पुरस्कारबाट मुकारुङ र ओझा सम्मानित एवं पुरस्कृत भएका हुन् ।

उनीहरु दुवै जनालाई सम्मानपत्रका साथ जनही ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ । पाँचथर सदरमुकाम फिदिममा अमर लिम्बू स्मृति प्रतिष्ठानले ‘चौँथो स्मृति दिवस, श्रष्टा सम्मान, पुस्तक लोकार्पण समारोह–२०७९ एवं छात्रावृति एवं राहत वितरण कार्यक्रम’ सम्पन्न गरेको छ ।

पुरस्कृत हुने २०२५ साल जेष्ठ २६ गते भोजपुरको टेम्केमा जन्मिएका मुकारुङ गितकार र कविको रुपमा परिचित नाम हो । २०६२–०६३ को जन आन्दोलनमा सर्जक र श्रष्टाको नेतृत्व गरेका मुकारुङ समावेशी लोकतन्त्रका लागि आफूहरुले त्यस दिनमा सडक संघर्षमा आउनुपरेको आफ्नो मन्तब्यमा स्मरण गरेका थिए ।

सम्मानित श्रष्टा मुकारुङले, ‘राष्ट्र संकटमा पुगेका बेला साहित्यकारदेखि जोकोही नागरिक सडकदेखिनै आवाज उठाउनु नागरिकको मुख्य कर्तब्य भएको बताए । अर्का पुरस्कृत व्यक्तित्व प्रेम ओझा फिदिम नगरपालिका दुई पल्लो टार निवासी,मोफसलमा बसेर साहित्यको साधना गर्ने एक कवि, गजलकार नाटककार, गीतकार, लोक गायक र लेखक हुन् ।

पत्रकार महासंघ पूर्वसभापति समेत हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य भिष्मराज आङदेम्बेको भनाईमा ‘प्रेम सबै क्षेत्रका अगुवा रहेको, उनका सृजना र क्रियाशिलता जिल्लाको लागि उदाहरणिय भएको जिल्लाबासीले महसुस गरेको छ ।’

कार्यक्रममा समदर्शी काईलाको ‘नयाँ ईश्वरको अवतार–कवि’ कविता सग्रह लोकार्पण भएको छ । उनको कविता संग्रह रेडपान्डा प्रकाशनका लागि चन्द्रकला लावतीद्वारा प्रकाशित कृति हो । उनी प्रयोगधर्मि कविका रुपमा परिचित श्रष्टा हुन् । उनका यसअघि ४ कृतिहरु प्रकाशित भइसकेका छन् ।

स्मृति दिवसको अवसरमा फाल्गुनन्द गाँउपालिकास्थित जयनारायण आदर्श माध्यामिक विद्यालयका जेहेन्दार छात्रा भूमिका सेन्दाङलाई प्रसंशापत्रसहित नगद १० हजार प्रदान गरिएको छ । कार्यक्रममा गत वर्ष र यस वर्ष जिल्लाका विभिन्न स्थानमा दैविक प्रकोपबाट पीडित परिवारका सदस्य एवं अविभावकलाई राहत प्रदान गरिएको छ ।

प्रतिक्रिया