पाथीभरा क्षेत्रमा हिमपात नहुँदा पर्यटन व्यवसायी मर्कामा

फुङ्लिङ । पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ ।

पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक छ । त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल हो । कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो ।

कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा समस्या हुन थालेको बताए ।

सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । हिमाल कालो चट्टानजस्तै बन्दै गयो भने कालो चट्टान हेर्न त पर्यटक आउँदैनन् होला भन्ने चिन्ता लागेको पर्यटन व्यवसायी सेराप शेर्पाले बताए ।

कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको परिषद्को तथ्यांक छ । फक्ताङ्लुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ ।

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ ।

विगतका वर्षमा कञ्चनजंघा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ ।

गत भदौदेखि मंसिर अर्थात चार महिनामा चार सय ३९ जान बाह्य पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गर्न पुगेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । लिम्बूका अनुसार मंसिरयता भने पर्यटकको आगमन शून्य छ ।

विसं २०७६–०७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजंघा हिमालमा आएका हुन् ।

कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा विसं २०५६ मा पुग्न सकिन्छ । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ ।

विजं २०५७ मा आठ सय ७३ विदेशी पर्यटक आएका छन् । विसं २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्यांकले देखाएको छ ।

चाँदीजस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टानजस्तै बन्दै गएको छ । गत वर्ष मंसिरको तेस्रो सातादेखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात सुरु भएको थियो ।

तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन । हिउँ नपर्दा हिमालको सुन्दरतासमेत गएकामा पर्यटन व्यवसायी चिन्तित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाको भनाइ छ ।

प्रतिक्रिया