जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै

घोराही । सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र संघीय सरकारको करिब २० करोड २१ लाखको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो जनसंख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रुपमा लिइएको छ ।

घोराही उपमहानगरका–१९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन् । वडागत रुपमा सबैभन्दा धेरै जलाशय वडा–१७ मा निर्माण गरिएका छन् । उक्त वडामा आठ जलाशय बनेका छन् । वडा–१ मा चरिंगे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन् । त्यसैगरी वडा–२ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ् । चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको स्थानीय महेश चौधरीले बताए ।

यस्तै वडा–४ मा अमारे, चरीखुुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा–५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा–६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा–८ मा लरैना जलाशय, वडा–१० मा ठाँटी गाउँ जलाशय र वडा–११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी वडा–१२ मा जंगखोली, वनबाटिका र साततले, वडा–१३ मा ज्यामिरे र बाह्रकुने, वडा–१६ मा गंगटीया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा–१७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठ तथा वडा–१८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन् ।

जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो । सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीइको दैनिकीमा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाइएको उपमहानगरकाले जनाएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको हो । निर्माण गरिएका जलाशयको बहुुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताए ।


‘बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र संघबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ,’ उनले भने, ‘कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ ।’
उपमहानगरले सुरुआती वर्षमा १२ जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ जलाशय निर्माण गरेको पौडेलले बताए । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन् । उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सुक्खा हुँदै गएको जमिनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गर्ने काम गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताए । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन् ।

प्रतिक्रिया