अति विपन्नलाई आवास हस्तान्तरण

बाँके । खजुरा गाउँपालिकाले अति विपन्न नागरिकलाई आवास हस्तान्तरण गरेको छ । वडा–३ बी बोरिङमा गाउँपालिकाद्वारा निर्मित आवास हस्तान्तरण गरेको हो । उक्त क्षेत्र करिब एक बिघा क्षेत्रफलमा रहेको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकामा सञ्चालित तराई, मधेस समृद्धि कार्यक्रमअन्तर्गत खजुरा गाउँपालिकाबाट निर्मित खजुरा सामुहिक आवासमा अति विपन्न नागरिकलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार गत आवमा आवासका लागि छनौट भएका पाँच जना मध्ये चार जनालाई प्रतिव्यक्ति एक घर हस्तान्तरण गरिएको हो ।

आवास पाउनेहरूमा बालसरी कामी, सुनिता सेन, गंगा विश्वकर्मा र सुनिता चमार रहेका छन् । एक जना भने अनुपस्थित रहेको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई एक कार्यक्रमका बीच अध्यक्ष विकले हस्तान्तरण गरेका थिए । गाउँपालिकाले प्रत्येक घर निर्माणका लाडि साढे पाँच लाख रुपैयाँ खर्च भएको जनाएको छ । उक्त घर दुई कोठासहित भान्सा र बरण्डासहितका छन् । आवासमा शौचालयचाहिँ सामूहिक रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ । उक्त आवासमा वडा–१ देखि ८ सम्मका अति विपन्न नागरिक बसोबास गर्छन् । उनीहरू सबै अति विपन्न नागरिक हुन् ।

उक्त अवसरमा बोल्दै अध्यक्ष विकले कार्यक्रमअन्तर्गत विगत केही वर्षयता गाउँपालिकाले अति विपन्न नागरिकलाई आवास हस्तान्तरण गर्दै आएको बताए । आर्थिक अवस्था कमजोर भएका, जग्गा जमिन नभएका र अति विपन्न नागरिकलाई कार्यक्रमअनुसार आवास निर्माण गरिँदै आएको उनको भनाइ छ । अब उनीहरूलाई गाउँपालिकाले कृषिजन्य उत्पादनमा जोड्नका लागि कार्यक्रम ल्याइने उनले बताए ।

गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलका अनुसार खजुरामा आर्थिक वर्ष ०७५/७६ देखि तराई, मधेस समृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ । हरेक वर्ष विपन्न नागरिकहरूलाई आवास हस्तान्तरण गर्दै आएको उनले बताए ।
कार्यक्रम लागू भएको वर्ष खजुराका २२ जनालाई आवास हस्तान्तरण गरिएको थियो । गाउँपालिकाले वडा–३ मा सामूहिक आवास नै निर्माण गरेको छ ।
यसअघि पनि वडा–३ मा १६ जना घरपरिवारलाई आवास हस्तान्तरण गरेर बसालिएको थियो । बुधबार आवास हस्तान्तरण गरिएका व्यक्तिहरू गत आवको कार्यक्रमअन्तर्गत छनौटमा परेका अति विपन्न नागरिक भएको उनले बताए । ‘केही वर्षयता खजुरामा कार्यक्रम लागू छ । प्रत्येक वर्ष छनौट गरेर वितरण गर्दै आएका छौँ । गाउँपालिकाका सबै वडाबाट छनौट गरिन्छ । वडा–३ आवास स्थल हो’, सूचना अधिकारी पौडेलले भने । यस आर्थिक वर्षमा पनि गाउँपालिकाले आवास निर्माण गरिरहेको छ ।

प्रतिक्रिया