प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित संख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।

उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।

रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङदेन थिए । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए ।

यसअघि कांग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र जनमत पार्टीका गोमा लाभ (सापकोटा) ले आ–आफ्ना पार्टीले समर्थन गरेका उपसभामुखका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मंगलबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया