विदेशबाट फर्केर गाउँमा माहुरी र बंगुर पालन

रुकुम पूर्व । जिल्लाको भूमे गाउँपालिका– ३ का ४४ वर्षका भागीमान पुन दुई दशकअघि वैदेशिक रोजगारीको सिलशिलामा साउदी, कतार र मलेसिया गए ।

वैदेशिक रोजगारको शिलशिलामा खाडी देशमा पुगेका भागीमानले मासिक ३० हजार कमाइ गर्थे । दुःखपछि सुखको दिन आउलान् भनेर ऋण खोजेर विदेश गएका उनी ३० हजारको कमाइले निराश हुँदै घर फर्के ।

घर फर्केपछि माहुरी पालन व्यवसाय सुरु गरेका भागीमानले मासिक २५ हजार आम्दानी गर्दै आएका छन् । उनी भन्छन्, ‘घरमा अहिले ३७ वटा माहुरीका घार छन्, सरदरमा वार्षिक आम्दानी तीन लाख हारहारीमा हुने गर्दछ ।’ उनले विदेशमा घामपानी, भोक, निन्द्रा नभनी काम गर्दा जम्मा ३० हजार कमाउँथे ।

भागीमानलाई त्योभन्दा त स्वदेशमै थोरै लगानीबाट सुरु गरेको व्यवसायले मासिक राम्रो आम्दानी दिइरहेको छ । उलने व्यवसायले आफूलाई निकै साथ दिइरहेको सुनाए ।

‘पहिले लेकभरी भैँसी बगाल हुन्थे, मेरो घरको गुजारा यसैबाट चलेको थियो’, उनले भने, ‘संकटकाल लागेपछि मेरो सबै सम्पती सकियो र म विदेशिन बाध्य भएँ ।’ विदेशमा पनि कमाई राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ घर फर्केको उनले सुनाए । उनले सेरेना जातको माहुरी पालन गदै आएका छन ।

माहुरीको साथमा बंगुर

भागीमानले मौरीको साथसाथै बंगुर पालन पनि गर्दै आएका छन् । २०७६ सालदेखि बंगुर पालन गर्दै आएको उनले बताए । उनले सुरुमा एउटा भाले र २ वटा माउबाट बंगुर पालन सुरु गरेका थिए । यसबाट पनि सन्तोषजनक आम्दानी भइरहेको उनी बताउँछन् ।

अहिले पुनसँग १ भाले र ४ माउ बंगुर छन् । बंगुरको पाठा र मासु बिक्रिबाट पनि मासिक २० हजारभन्दा माथि आम्दानी हुँदै आएको छ ।

दुवै व्यवसायबाट उनले घरपरिबारको खर्च सजिलै धान्दै आएका छन् । यसरी स्थानीय स्तरमा व्यवसाय गर्नेहरुलाई सरकारले पनि प्रोत्साहन गर्न जरुरी भएको पुनले बताए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया