नेपाल टेलिकमकाे आग्रह, ‘आफ्नै नाममा दर्ता मोबाइल नम्बरमात्रै प्रयोग गराैं’

काठमाडौं । नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गरेको छ । नेपाल टेलिकमले राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएकोले मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ लगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको जनाएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ ।

टेलिकमले ग्राहकहरुको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिंदा अथवा सिमकार्ड परिवर्तन गर्दा केही मापदण्डहरु कार्यान्वयनमा ल्याइएको छ ।

टेलिकमले जनाए अनुसार नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्ने जनाएको छ ।

टेलिकमले स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने र परिचयपत्रको प्रतिलिपीलाई सक्कल परिचयपत्रको नाम, बुवाको नाम, परिचयपत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने जनाएको छ ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको/नभरेको जाँच पश्चात ग्राहकको परिचयपत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुने टेलिकमको भनाइ छ ।

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुननसक्ने कारण सहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाई सोको प्रतिलिपी रितपूर्वक भरिएको फरामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु कार्य सम्पन्न भए पश्चात सिमकार्ड परिवर्तन हुन्छ ।

सिमलिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्यआधिकारिक परिचयपत्रको सक्कल र तिनका प्रतिलिपी सहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचयपत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।

वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियत नामापत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया