काभ्रे बस दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो, एकै परिवारका आठ जनाको मृत्यु

काभ्रे । मंगलबार साँझमा जिल्लाको बेथानचोक– ४ मा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा मृतक सबैको पहिचान खुलेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकहरुको पहिचान खुलेको र शवहरु सबैको पोस्टमार्टम भइसकेको भन्दै शव आफन्तलाई बुझाउन थाल्दा ८ वटा शव भने आफन्तको पर्खाइमा छ ।

प्रहरीले ९ वटा शवको मृतकका आफन्तलाई बुझाएको छ । यता बाँकी शव मध्ये एकै परिवारका ८ जनाको शव धुलिखेल अस्पतालको फरेन्सिक विभागमा आफन्तको पर्खाइमा शवले कुरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोष्टमार्टम भइसकेको र त्यसमध्ये ९ जनाको शव परिवारले बुझेर धार्मिक रितिरीवाज अनुसारदाहसंस्कारका लागि स्वयम्भुलगायत आ–आफ्नो स्थलतर्फ लगेका छन् ।

बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताए । उनीहरूको परिवारमा दुई जना घाइते आवस्थामा रहेका छन् भने एक जना वैदेशिक रोजगारीमा जापानमा रहेका छन् । ‘आठवटा शव परिवारले बुझ्न बाँकी छ, अन्य ९ जना शवहरुलाई परिवारको जिम्मा लगाएका छौँ’, प्रहरी उपरिक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ, एक जना जापानमा छन् भन्ने सुनेको छु, आज बेलुकीसम्म आएर ८ जनाकै शव बुझ्ने भन्ने कुरा आएको छ ।’

आफन्त कुरिरहेको ८ शवहरु बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपीला तामाङ र ११ वर्षीय पुष्कर तामाङ रहेका छन् ।

उनीहरू सबै एकै परिवारका हुन् । मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको र मृतक बुद्ध तामाङ र कोपीला तामाङकी आठ वर्षीया श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

आफन्तलाई कुरिरहेको एकै परिवारका आठ शव : फाइल तस्विर

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका न्यौपानेले दिएको जानकारी अनुसार दुर्घटनामा २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा ८ जना, धुलिखेल अस्पतालमा ९ जना र बाँकी ३ जना काठमाडौंको बिएनबी, र सानोठिकी अस्पतालमा उपचाररत छन् ।

यसैबीच बुधबार बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्त र यातायात व्यवसायीबीच क्षतिपूर्तिका सम्बन्धमा सहमति भएको छ । दुर्घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सहमति भएको छ । बुधबार दिउँसो २ बजे बसेको बैठकमा दुर्घटनामा घाइतेको आवश्यक उपचार गराउन र मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउन पुण्यमाता यातायात प्रालि प्रतिबद्ध रहेको सो संस्थाका अध्यक्ष राजेश सुन्दर सैजुले बताए ।

अहिले तत्कालका लागि दाहसंस्कार गर्न मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको सैजुले जानकारी दिए । यसैबीच बुधबार बस दुर्घटनामा परेका आफन्तलाई सहानुभूति राख्न बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाले दुःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एक दिन सार्वजनिक विदा दिएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सूचना जारी गर्दै शोक बिदा दिएको जनाएका हुन् । वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाइतहरूको शिघ्र स्वास्थ्य लाभको कामनाका लागि शोक बिदा दिएको अधिकारीले हस्ताक्षर गरेको वक्तव्यमा उल्लेख छ ।

गाउँपालिकाभित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघ–संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन अधिकारीले जारी गरेको सूचनामा आग्रह गरिको थियो । दुर्घटनामा आफूहरु सबै किसिमको दुःख पीडामा साथै रहेको भन्दै जिल्लाका विभिन्न पार्टीहरूले पनि शोक वक्तव्य जारी गरेका छन् ।

नेकपा एमाले काभ्रे, नेपाली कांग्रेस काभ्रे र नेकपा माओवादी कांग्रेसले शोक वक्तव्य जारी गरेको छ । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यञ्जु, नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा र नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले वक्तव्य जारी गर्दै घाइतेको उपचार को लागि कुनै कसर बाँकी नराख्न सरकारसँग माग गरेका छन् । दुर्घटनामा परेको बस रिजर्भ रहेको र ब्रतबन्ध (छेवर) सकेर घर फर्कँदा दुर्घटनामा परेको थियो ।

यस्तो छ दुर्घटनामा सबै मृतकहरुको परिचय

१. ललितपुर जिल्ला महाँकाल गाउँपालिका ६ बस्ने वर्ष २२ का तेजप्रसाद तिमल्सिना (चालक)

२. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २७ की कोपिला तामाङ

३. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५५ का कुमार तामाङ

४. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ११ का पुष्कर तामाङ

५. काभ्रे जिल्ला बेथानचोक गा.पा. ४ बस्ने वर्ष १९ का रविन तामाङ

६. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ७९ की निर्मला तामाङ

७. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २८ की मञ्जु तामाङ

८. काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ

९. काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष ९ का गुरुलक्ष्मणदास तामाङ

१०. मकवानपुुर जिल्ला इन्द्रसरोवर १ बस्ने वर्ष ६ की समीक्षा थिङ

११. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ४३ की हेमा तामाङ

१२. काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने वर्ष ४१ की चेलिमाया तामाङ

१३. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५० का अंकुर तामाङ

१४. काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष ४२ का रामकुमार तामाङ

१५. काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ३० का बुद्ध तामाङ

१६. काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ

१७. काभ्रे जिल्ला बेथानचोक ५ बस्ने वर्ष २४ की मञ्जु तामाङ

प्रतिक्रिया