किम्फ फेस्टिभल सुरु

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २०औंँ संस्करण सुरु भएको छ । हिमाल एसोसिएसनले ‘दिगो आरोहण’ मूल नाराका साथ गरेको महोत्सव बिहीबारदेखि सुरु भएको हो । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतीलाई लक्ष्य गर्दै नारा तय गरिएको महोत्सव काठमाडौं महानगरपालिकाको सहआयोजनामा भएको हो । मंसिर २६ गतेसम्म भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवको एक कार्यक्रमका बीच बलिउड अभिनेता तथा निर्देशक प्रकाश झाले उद्घाटन गरे ।

उनले काठमाडाैंलाई सांस्कृतिक सहर बनाउनुपर्ने धारणा राख्दै महोत्सवको सफलताको कामना गरे । किम्फमा कमलकुमार र विद्या चापागाईंले निर्देशन गरेको चलचित्र ‘बाघको बंगारा’ प्रदर्शन गर्दै कार्यक्रम सुरु गरिएको हो । चलचित्रले कर्णाली प्रदेशको जाजरकोटको हनी हन्टरको साहसिक कथालाई देखाइएको छ । योसँगै सम्राट खनाल निर्देशन गरेको ३३ मिनेटको वृत्तचित्र ‘थ्रु द सिंगिङ भिलेज’ को समेत प्रिमियर गरिएको थियो ।

महोत्सवमा विशेष वक्ताको रुपमा बलिउड अभिनेता तथा निर्देशक झा रहने आयोजकले जनाएको छ । बिहीबार नै उनी अभिनीत चलचित्र ‘मट्टो की साइकिल’ प्रदर्शन गरियो । महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र प्रदर्शन गरिने जनाइएको छ । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिँदै आएको छ ।

किम्फका अठारौं र उन्नाइसौं संस्करण कोभिड महामारीको कारण भर्चुअल माध्यममार्फत गरिएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र देखाइने छन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः दुई लाख, एकलाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउने छन् । यस्तै, नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका चलचित्रलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउने छ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत पचास हजार पाउने छ । यो वर्ष किम्फको जुरीमा जर्मन लेखक÷निर्देशक÷निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् । महोत्सवमा चलचित्रसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनीका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया