प्रतिनिधिसभामा ७० नाघेका १४ सांसद

काठमाडौं । प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ जना सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कुल सांसदको झण्डै साढे ८ प्रतिशत ७० वर्ष नाघेका सांसदहरूको उपस्थिति छ ।

उमेरले ७० नाघेका सांसदहरुमध्ये अधिकांश प्रमुख राजनीतिक दलका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार, कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुन् । उनी फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका भए । उनले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन् । पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङ गरिरहेका छन् । यसैगरी बहालवाला परराष्ट्रमन्त्रीसमेत रहेका डा. नारायण खड्का पनि ७३ वर्ष पुगे । कांग्रेस नेता खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसैगरी मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा. शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन् । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुगेका छन् ।

यसैगरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ सिटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुगेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् ।

नेकपा एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मंगलप्रसाद गुप्ता पनि ७७ वर्ष पुगेका छन् । नेकपा माओवादी केन्द्रले जितेको १८ सिटमध्ये एउटामा ८० वर्षीय महिन्द्र राययादव पनि निर्वाचित भएका छन् । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्रीसमेत हुन् ।

यसैगरी जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले चुनाव जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्षसमेत हुन् । लोसपाबाटै ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित भएका छन् ।

यसैगरी राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जितेका छन् । उनले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् । राप्रपाकै अर्का उम्मेद्वार ७३ वर्षीय ध्रुवबहादुर प्रधानले पनि निर्वाचन जितेका छन् । उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । उनी बागलुङ क्षेत्र नम्बर १ बाट चुनाव जित्दै प्रतिनिधिसभाको सांसद् बनेका हुन् ।

प्रतिक्रिया