कर्णाली र सुदूरपश्चिम प्रदेशसभा : प्रत्यक्षतर्फ दलित र महिला शून्य

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो । कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समान नौ÷नौ वटा सिट जितेका छन् । नेकपा एमालेले भने पाँच सिट जितेको छ । कर्णाली प्रदेशसभामा एक जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । कर्णाली प्रदेशसभामा निर्वाचित भएका उम्मेद्वारहरूमध्ये अधिकांश खसआर्य पुरुष रहेका छन् ।

कर्णाली प्रदेशसभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचनअघि धेरै दल देखिए पनि अन्य दललाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएको छ । उक्त प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैको प्रतिनिधित्व भएको छ ।

प्रत्यक्षतर्फको अन्तिम मतपरिणामसँगै प्रदेश सरकार गठनमा कर्णालीमा रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । बराबरी सिट जितेको कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी पनि सुरु भएको छ ।

यद्यपि, संघीय सरकारमा कांग्रेस र माओवादी केन्द्र एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना बलियो छ । कर्णाली प्रदेशसभाका निर्वाचित भएका स्वतन्त्र सांसद ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् । उनी जुम्ला ‘क’ बाट ९ हजार ६ सय ५४ मतसहित विजयी भएका हुन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशसभाको ३२ सिटमा पनि महिला र दलितको प्रतिनिधित्व देखिँदैन । उक्त प्रदेशमा नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको छ । आठ सिटसहित नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीले पाँच, नेकपा एमालेले तीन, नेकपा एकीकृत समाजवादीले तीन सिटमा जित हासिल गरेका छन् । एक क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उक्त प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ ।

महिला र दलितको प्रतिनिधित्व गराउन अब समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी कुल ५३ सदस्यीय रहेको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सिटको आवश्यकता पर्छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले प्रत्यक्षतर्फ नै २१ सिट जितिसकेका छन् ।

यसैबीच, प्रदेशसभा समानुपातिकतर्फ मधेस प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार, कूल २० लाख ८६ हजार २ सय ९८ मतमध्ये कांग्रेसले ४ लाख १ सय ४४ मत प्राप्त गरेको हो ।

मधेस प्रदेशमा नेकपा एमाले ३ लाख ५१ हजार ७ सय ६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ । पहिलोपटक निर्वाचनमा सहभागी बनेको डा. चन्द्रकान्त राउत नेतृत्वको जनतम पार्टी भने तेस्रो दल बन्न सफल भएको छ । उक्त पार्टीले ३ लाख २९ हजार १ सय ७७ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ९८ हजार ७ सय ७४ मत ल्याएको छ ।

प्रतिक्रिया