सकियो समानुपातिकको मतगणना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भएको जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सोमबार नै सम्पन्न भएको थियो । समानुपातिकतर्फको मतगणना भने मंगलबार सम्पन्न भएको हो । आयोगका अनुसार, प्रतिनिधिसभाको समानुपातिकतर्फ सदर भएको कुल १ करोड ५ लाख ६० हजार ६७ मतको गणना सम्पन्न भएको हो । अन्तिम मतपरिणाम अनुसार, सात दलले मात्र कूल सदर मतको तीन प्रतिशत कटाएका छन् ।

‘थ्रेस होल्ड’ कटाउन आवश्यक ३ लाख १६ हजार ८ सय २ मत ल्याउन सफल भएका ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । समानुपातिकतर्फ नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित पहिलो, एमाले ७८ सिटसहित दोस्रो र माओवादी केन्द्र ३२ सिटसहित तेस्रो ठुलो दल बनेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२ र जनमत पार्टीको ६ सांसद हुनेछन् । ३ प्रतिशतको लक्ष्य पार गर्न नसकेका दलहरु एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १० सिट जिते पनि एकीकृत समाजवादीले समानुपातिकमा सदर मतको तीन प्रतिशत मत पाउन सकेन । एकीकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत मात्र ल्यायो । एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्नका लागि १८ हजार ४ सय ११ मत अपुग भएको आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी भने तीन प्रतिशतको ‘थ्रेस होल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बने । अन्तिम मतपरिणाम अनुसार, नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत ल्यायो ।

यसैगरी नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत पाए । राप्रपाले ५ लाख ८८ हजार ८ सय ४९ मत, जसपाले ४ लाख २१ हजार ३ सय १३ मत र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत पाए ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना सांसदको प्रतिनिधित्व हुने प्रावधान छ । समानुतापतिकको अन्तिम मतपरिणाम अनुसार, एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछन् । जनता समाजवादी पार्टी र जनमत पार्टीले भने पाँच÷पाँच सिट पाउनेछन् ।

प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट जितेको छ । समानुपातिकको ३२ सिट जोड्दा प्रतिनिधिसभामा कांग्रेस कुल ८९ सिटसहित पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ ४४ र समानुपातिकबाट ३४ सिट जितेको एमाले प्रतिनिधिसभामा कुल ७८ सिटसहित दोस्रो ठुलो दल बनेको छ ।

यसैगरी प्रत्यक्षतर्फ १८ र समानुपातिकबाट १४ सिट जितेको माओवादी केन्द्र कुल ३२ सिटसहित तेस्रो ठुलो दल बनेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सिट संख्या २० पुगेको छ ।

यसैगरी राप्रपाले प्रत्यक्षबाट ७ र समानुपातिकबाट ७ गरी कुल १४ सांसद पाएको छ । प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ सिट पाएको जसपाको कुल सांसद संख्या भने १२ पुगेको छ । प्रत्यक्षबाट १ र समानुपातिकबाट ५ सिट पाएको जनमत पार्टीको कुल सांसद संख्या ६ पुगेको छ ।

यसका अतिरिक्त समानुपातिकतर्फ ३ प्रतिशतको लक्ष्य पार गर्न नसकेका दलहरु नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र उम्मेद्वार पनि विजयी भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा भने समानुपातिकतर्फ प्रमुख तीन दलले पाएको मत घटेको हो । ०७४ सालको निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ र माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत पाएका थिए ।

समानुपातिक सिटको कानुनमा संशोधन

निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुनमा संशोधन गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेशसभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । आयोगका अनुसार, संशोधनपछि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपता आएको छ ।

प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन दिनको समय पाउने व्यवस्था छ । तर, प्रदेशसभातर्फ दलहरूलाई बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको दिइएको समय थियो ।

प्रदेशसभातर्फ दलहरूलाई दिइएको सात दिनको समयलाई संशोधन गरेर तीन दिन कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दलहरूलाई सिट बाँडफाँड गरी नाम पठाउन बुधबारसम्ममा पत्र पठाउने भएको छ ।

प्रतिक्रिया