अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिन सहमति

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो ।

बैठकले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

चुनावपछिको पहिलो बैठक भएकाले निर्वाचनको सामान्य समीक्षा गरिएको र आगामी दिनमा यही गठबन्धनको सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालिएको उनले बताए ।

त्यसैगरी, सोमबार सत्ता गठबन्धनको शीर्षस्थ नेताको संयुक्त बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिन जरुरी ठानेको निर्णय गरेको छ ।

शीर्षस्थ नेताले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ ।

प्रतिक्रिया