चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता संसद्मा प्रवेश

म्याङ्लुङ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहन्थे । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गरे । उनले ६ महिना जति पढिन् पनि । तर, एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मानिनन् र उनी घर फर्किइन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उनको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो ।

बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न थिए । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भइन् । उनी त्यतिबेला खबर ओसारप्रसारमा संलग्न भएकी थिइन् ।

विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राखेकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी संघमा आवद्ध भइन् । उनको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो ।

‘सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भएँ’, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भनिन्, ‘महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिएँ ।’

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उनको राजनीतिक यात्रा लामो छ ।

विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी संघ तेह्रथुमको सचिव बनिन् । विसं २०५४ मा उनी नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला संघ तेह्रथुमको अध्यक्ष बनेकी थिइन् ।

विसं २०५८ मा नेपाल महिला संघ केन्द्रीय सदस्य बनेकी सीता २०६० सालमा सचिव बनेकी थिइन् । लगातार पार्टी राजनीतिमा लागेकी उनी २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य भइन् ।

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बनेकी सीताले संविधानसभा अन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गरिन् ।

उनी तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुन् । दोस्रो संविधासभामा समेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनेकी थिइन् ।

तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनिन् । उनी २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् ।

दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दै छन् । सीताले १९ हजार सात सय दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६ सय २३ मत पाएका थिए ।

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेस केन्द्रीय सदस्य भएकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । ‘तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्’, उनले भनिन्, ‘अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु’, नवनिर्वाचित सांसद सीताले भनिन् ।

प्रतिक्रिया