इलाम । इलामको माङसेबुङ गाउँपालिका– २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले वडास्तीय सडक मर्मतका लागि उपभोक्ता समिति गठन गरेका छन् । सुरुमा उपभोक्ता समिति गठन नै नगरी काम थालेका वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती सच्याउँदै उपभोक्ता समिति गठन गरेका हुन् ।
वडा कार्यालयमा सरोकारवालाहरुको आम भेला बोलाएर उनले सात सदस्यीय उपभोक्ता समिति गठन गरेका हुन् । समितिका अध्यक्षमा कुशल इदिङ्गो लिम्बू, सचिवमा सन्देश पोर्तेल र कोषाध्यक्षमा तुलसा खुलाल चयन भएका छन् ।
सदस्यहरुमा गोपाल राई, प्रेम कार्की, देवी कार्की र पुष्पा राई चयन भएका छन् । माङसेबुङ गाउँपालिका वडा नम्बर २ को चालु आर्थिक वर्ष २०७९–०८० को योजना अन्तरगत वडा स्तरीय सडक मर्मत शीर्षकमा विनियोजित बजेट कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको हो ।
सो योजनाका लागि सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ । समितिले सात लाख रुपैयाँबाट वडाका विभिन्न सडकहरु मर्मत गर्नेछ । उपभोक्ता समिति गठनका लागि दुई पटकको आम भेला बोलाइए पनि अध्यक्ष पदमा सहमति हुन नसकेपछि स्थगित भएको थियो ।
गत १२ असोज र २७ कात्तिकमा भएको भेला स्थगित भएको थियो । यसअघि सोही योजनाबाट भन्दै वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति नै गठन नगरी आफैं स्काभेटरको व्यवस्थापन गरी काम थालेपछि व्यापक विरोध आएको थियो ।
स्थानीयले विरोध जनाएपछि उपभोक्ता समिति नै नबनाई योजनाको काम गर्दै वडाध्यक्ष बस्नेत शीर्षकको समाचार १४ कात्तिकमा सौर्य अनलाइनमा र १५ कात्तिकको सौर्य राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको थियो । सो समाचार प्रकाशनपछि वडाध्यक्ष बस्नेतले रातारात किर्ते माईन्युट खडा गरी फर्जी उपभोक्ता समिति गठन गरेको कागज तयार गरेका थिए ।
वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न पुरानै मितिको फर्जी आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका थिए । १५ कात्तिकमा वडा कार्यालयमा आएका सेवाग्राहीलाई १३ असोजको मितिको आम भेलाको माइन्युट खडा गरी हस्ताक्षर गराएका थिए ।
किर्ते माइन्युट खडम गरेपछि ‘वडाध्यक्ष बस्नेतको अर्को कर्तुत, उपभोक्ता समिति गठनको किर्ते माइन्युट खडा’ शीर्षकको समाचार १५ कात्तिकमा सौर्य अनलाइन र १६ कात्तिको सौर्य राष्ट्रिय दैनिकमा प्रकाशन भएपछि वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती स्वीकार गर्दै सच्याउन तयार भए र दोस्रो भेला कात्तिकमा बोलाए ।
२७ कात्तिकको सरोकारवालाहरुको दोस्रो भेलामा समेत उपभोक्ता समिति गठन हुन नसकेपछि वडाध्यक्ष बस्नेतले सो भेला स्थगन गर्दै पुनः ८ मंसिरमा तेस्रोपटक भेला बोलाएका थिए । सो भेलाबाट भने समिति गठन भएको हो ।
यसैबीच उपभोक्ता समिति गठन नै नभई काम भएको र किर्ते कागजात तयारसम्बन्धी समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको छ । यस सम्बन्धी आयोगले गाउँपालिकालाई पत्राचार समेत गरेको जानकारी प्राप्त भएको छ ।
इलाम
प्रतिक्रिया