समानुपातिकतर्फ ७७ लाख गनियो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ७ बज उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २१ लाख ६४ हजार ४०० मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख ८२ हजार ९९ मत प्राप्त गरेको छ ।
तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ९ लाख १६ हजार ४०४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८४ हजार ३७५ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ६६ हजार ९१२ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार तीन सय आठ मत प्राप्त गरेका छन् ।
अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार एक सय ५९ मत प्राप्त गरेका छन् । यही मंसिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

छ प्रदेशसभामा पनि एमाले अघि

प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ ।
त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र) ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउन सकेका छैनन् ।

मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले) ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ ।
बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ ।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।

गणनामा ओलीको शंका

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य भएको हुनसक्ने ओलीको आशंका छ ।

‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ ।’

ओलीले जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओलीले कुन पार्टीको मत अस्वाभाविक आएको हो भन्नेचाहिँ खुलाएका छैनन् ।

प्रतिक्रिया