लमजुङबाट देव गुरुङलाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ । प्रतिनिधिसभा सदस्यमा लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतान्तरले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । विजयी गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् ।
जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ दुइ हजार तीन सय ८४ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले एक हजार दुई सय ३१ मत प्राप्त गरेका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले चार सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले एक सय ४८, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६०, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेलले ४९, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया