यस्तो पनि लापरवाही !

काठमाडौं । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । हस्ताक्षर नभएको मतमत्र भेटिएपछि विवाद सुरु भएको थियो । विवादका कारण केही समय मतगणना कार्य रोकिएको थियो ।
त्यसपछि मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरिएको जानकारी गराएका थिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।

मत गनिरहेको बेला नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । त्यसपछि मतगणना कार्यमा संलग्न उम्मेद्वारका प्रतिनिधिहरूले यस विषयमा कुरा उठाएका थिए । यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरूले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

माओवादी केन्द्रकी उम्मेद्वार रेखा शर्माका प्रतिनिधि विश्वराज आचार्यले ती मतपत्र मतपेटिकामा खसेका कूल मतपत्रको संख्याभन्दा बाहिरको भए स्वतः बदर हुनुपर्ने तर, त्यही संख्याभित्रकै भए सदर गर्नुपर्ने आफूहरूको माग रहेको बताए । ‘यसमा कुनै नियत छैन भने जनताले पवित्र चाहनाले दिएको मतलाई सदर गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने, ‘यदि यो नियत हो भने कानुन बमोजिम हुनुपर्छ ।’

पद्मोदय उच्चमावि, जबरकोट, बोझपोखरा, गढी समुदायिक बंगलाचुलीलगायतका स्थानका मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । ती सबै मतपत्र स्वतः बदर हुने जानकारी मुख्य निर्वाचन अधिकृत कार्कीले दिए ।
यसैगरी म्याग्दीमा पनि यस्तै समस्या देखिएपछि विवाद भएको थियो । म्याग्दीमा थुप्रै मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । सोही कारणले लामो समय मतगणना कार्य अवरुद्ध हुन पुगेको थियो ।

एउटै वडाको १ सय ४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
यसैबीच, कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा कर्मचारीले प्रदेशसभातर्फको मतपत्र दिएको पाइएको छ । मतगणनाका क्रममा मंगलबार प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभाको मतपत्र पाइएपछि गणना रोकिएको छ ।
मादी गाउँपालिका–५ कार्यालयमा रहेको मतदान केन्द्रमा मतगणना भइरहँदा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलबीच विवाद सिर्जना भएको हो । प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभातर्फको ९९ मत भेटिएको हो ।

कर्मचारीले लापर्बाही गर्दै प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको दिएको दलहरूले जनाएका छन् । प्रतिनिधिसभातर्फ उक्त केन्द्रमा कुल १ हजार ४८ मत खसेकोमा १ हजार ४७ मत मात्र भेटिएको छ । त्यसतर्फ १ मत कम भए पनि विवाद भने भएको छैन ।

प्रतिक्रिया