रुकुम पूर्वमा मतगणना ढिलाई, अझै मतपेटिका पुगेन

रुकुम पूर्व । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पूर्वमा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना हुन सकेको छैन ।

क्षेत्र नम्बर १ र २ का दुर्गम भेगबाट समयमा मतपेटिका संकलन नहुँदा मतगणनामा ढिलाइ भएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर (१) को पेल्मा र (२) को पाखापानीका मतपेटिका जिल्ला आइपुगेका छैनन् । यि बाहेक जिल्लाका अन्य ठाउँको मतपेटिका भने सदरमुकाम पुगेका छन् ।

सोमबार साँझ ४ बजेसम्म पेल्मा र पाखापानीको मतपेटिका आइपुग्ने पराजुलीले बताए । त्यसलगतै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने उनको भनाइ छ ।

उनका अनुसार दुर्गमका मतपेटिका संकलन गर्न समय लागेका कारण सर्वदलीय बैठक पनि बस्न सकेको छैन । अप्ठ्यारो भूगोल र यातायातको पहुँच नहुँदा दुई स्थानको मतपेटिका संकलनमा ढिलाई भएको हो ।

अन्य मतपेटिका सदरमुकाम रुकुमकोटस्थित रुक्मिणी माविको नयाँ भवनमा संकलन गरिएको छ । सोही भवनमा मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा तीन स्थानीय तह रहेको रुकुम पूर्वमा ६१.८२ प्रतिशत अर्थात २१ हजार ९० मत खसेको छ । यहाँ ४४ मतदानस्थल र ५६ मतदान केन्द्र कायम गरिएको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया