एमाले उम्मेद्वारलाई भोट मागेको आरोप

मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमार्फत दलका उम्मेद्वारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

कार्कीले बिहीबार बिहान प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोस्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए । कार्कीको फेसबुकको स्क्रिनसर्टसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गतको जिल्ला आचारसंहिता अनुगमन समितिलाई यस विषयमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टीकरण मागेको थियो । कार्कीले भने मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्वीकार गरेका थिए । आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको जानकारी मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले दिए ।

कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत विष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मालिका गाउँपालिका–४ को ओखरबोट माबिका प्रधानाध्यापक रहेका कार्कीलाई आचारसंहिता विपरीतको कार्य गरेकाले जिम्मेवारीबाट हटाइएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

यसैगरी नवलपरासी पश्चिमको सुनवल नगरपालिका–११ वाक्वाणी विद्यालयका मतदान अधिकृत पृथ्वीराज चौधरी पनि बर्खास्त भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका चौधरीले मुख्य निर्वाचन अधिकृतलाई अपशब्द प्रयोग गरेपछि बर्खास्त गरिएको बताइएको छ ।
निर्वाचन सामग्री बुझ्नेक्रममा मादक पदार्थ सेवन गरी मुख्य निर्वाचन अधिकृतसमक्ष अस्वभाविक व्यवहार देखाएपछि बर्खास्त गरी उनलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । उनको स्थानमा वैकल्पिक मतदान अधिकृतले खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया