धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका–९ रोखलगाउँ घर भएका तारासिं दमाईले सिलाइकटाई व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेका छ्न् । उनले अमरगढीको किर्तिपूर बजारमा सिलाई सेन्टर खोलेका छ्न् । ताराले परम्परागत पेशालाई आधुनिक बनाउँदै लगेका छन् ।
ताराले भने, ‘पहिले बुवा बाजेको पालामा लुगा सिलाएर अन्नपात लिने चलन थियो, त्यसले खाने गुजारा चलाउन पनि गाह्रो हुन्थ्यो, काम भने बर्षभरी गर्नु पर्थ्यो, उचित ज्याला मिल्दैनथ्यो, अहिले त्यसो हुँदैन नगद आम्दानी हुन्छ ।’ उमेरले ४५ वर्षीय तारा मुक्त हलिया परिवारका सदस्य हुन् ।
हलिया मुक्तिपछि उनको परिवारले धेरै समस्यासँग मुकाबिला गर्नुपर्ने समय आयो । खान लाउनसमेत धौधौ पर्न थाल्यो । उनले गरिबीका कारण धेरै पढ्न पनि पाएनन् । ताराले भने, ‘बुवाले ज्याला मजदुरी गरेर कमाएको खान लाउनमै ठिक्क हुने, खेतीपाती गर्न आफ्नो जग्गा जमीन पनि थिएन, पाँच भाइबहिनी भएकाले पढाई खर्च जुटाउन नसकिने भयो, अनि दश कक्षा पढेर छोडेँ ।’
पढाई छोडेर ताराले सिलाई कटाईको काम गर्न थाले । घर परिवारले लुगा सिलाउने काम गर्दै आएकाले यो पेशामा लाग्न तारालाई समस्या भएन । उनले भने, ‘घरमा अग्रजले लुगा सिलाउने काम गर्नुहुन्थ्यो, मैले पनि उहाँहरुबाटै सिलाउन सिकेँ, मैले धनगढी, अत्तरिया गएर पनि काम गरेँ, तर त्यहाँ पनि अरुको पसलमा काम गर्नुपर्ने भयो, ज्याला पनि थोरै मिल्ने त्यसबाट घर व्यवहार धान्न अप्ठ्यारो हुन थाल्यो ।’
त्यसपछि उनमा आफ्नै सिलाई कटाईको पसल खोलेर काम गर्ने चाहना भयो । ‘आफूसँग सिलाउने सीप छँदै थियो,’ ताराले भने, ‘अरुको पसलमा काम गर्नुभन्दा आफ्नै पसल खोलेर काम गर्नुपर्छ भन्ने सोच आयो ।’
उनले आजभन्दा १५ वर्ष अगाडि आफ्नै पसल खोलेर काम गर्न थाले । पसल त खोले तारासँग काम गर्ने श्रोत साधनको भने कमी भयो । ‘एउटा हाते मेसिन त्यही पनि राम्रो अवस्थाको थिएन’, ताराले भने, ‘कमाइ त हुन्थ्यो तर सोचे जस्तो कमाइ हुँदैन थियो ।’
तर पनि उनले असहजताका बीच काम गर्दै आइरहे । उनले भने, ‘सिलाई कटाई गरेको पैसाबाट घर खर्च चलाउन केही सहज त भयो, जेनतेन छोराहरुलाई पढाएँ, आफूले गरिबीका कारण पढ्न नपाए पनि छोराहरुलाई पढाउन सकेको छु ।’ ताराका ३ छोरा छ्न, ।
‘दुई छोराले काठमाडौंमा अहिले बीबीएस सकेर लोकसेवाको तयारी गर्दैछ्न्,’ उनले भने, ‘एउटा छोरा यहीँको बोर्डिङ स्कुलमा पढ्दै छ्न ।’ सिलाई कटाइबाटै घर खर्च धान्दै आएका तारालाई काम गर्ने सामानको भने सधैं अभाव नै रह्यो ।
उनको सामग्री अभाव अहिले बिस्तारै पूरा हुँदै गइरहेको छ । अभावका बीच काम गर्दै आइरहेका ताराले सोचेजस्तो कमाई भने गर्न पाएका थिएनन् । गत वर्ष ELCA र लुथरन विश्व फेडेरेशन (LWF) नेपालको आर्थिक सहयोगमा जिल्लामा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालद्वारा सञ्चालित साहस–२ परियोजनाबाट राम्रो अम्ब्रेला सिलाई मेसिन, इलेक्ट्रोनिक आइरनलगायतका सामाग्रीहरु पाएपछि अहिले काम गर्न धेरै सहज भएको ताराले बताए ।
‘पहिले एउटा पुरानो मेसिनबाट एक्लैले लुगा सिलाउने काम गर्थेँ,’ उनले, भने, ‘एउटा मेसिन मत्रै थियो मैले मात्र काम गर्थेँ, अहिले महासंघबाट मेसिन पाउँदा श्रीमान श्रीमती दुवैजनाले काम गर्न पाएका छौँ ।’ अहिले उनको कमाई झन राम्रो हुँदै गएको छ ।
ताराले अहिले सिलाईको काम गर्ने सामाग्रीहरु सबै जुटेका छन काम गर्न धेरै सहज भएको र दिनमा ९ सयदेखि हजारसम्म कमाई हुने बताए । कामका लागि विदेशिने यूवाहरुलाई उनको सन्देश पनि छ । तारा भन्छ्न्, ‘सीप सिकेर व्यवसाय गरेर आफ्नै देशमा पनि आत्मनिर्भर बन्न सकिन्छ, विदेश नै जानूपर्छ भन्ने छैन ।’
कैलाली
प्रतिक्रिया