नगर प्रहरीलाई गस्ती गर्न साइकल

बाँके । जिल्लाको कोहलपुर नगरपालिकाले कोहलपुर नगर प्रहरीलाई पाँच वटा साइकल वितरण गरेको छ । नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती तथा अनुगमन गर्नको लागि नगर प्रहरीलाई पाँच वटा साइकल वितरण गरिएको हो । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले संयुक्त रूपमा नगर प्रहरीलाई साइकल हस्तान्त्ररण गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले नगरपालिकाको प्रांगणमा पाँच वटा साइकल वितरण गरिएको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाबाट अब नगर प्रहरीले दैनिक गस्ती र अनुगमन गर्नेछन् । उक्त साइकल खरिद मूल्य हेल्मेट र भ्याट सहित १२ हजार रुपैयाँ रहेको छ । कुल ६० हजार रुपैयाँमा नगर प्रहरीलाई साइकल वितरण गरिएको हो । साइकल हस्तान्त्रण समारोहमा बोल्दै नगरप्रमुख आचार्यले नगरबासीको रक्षा र सुरक्षाका लागि नगर प्रहरीले तीनपटक गस्ती गर्ने बताए ।

उनका अनुसार पछिल्लो समय नगर प्रहरीले कोहलपुरको सुरक्षाको लागि भूमिका खेलिरहेको छ । नगर प्रहरीलाई थप गतिशील बनाउने अभियान समेत हो । नगरप्रमुख आचार्यले नगर प्रहरीले १५ वटै वडामा गस्ती गर्ने बताए । साइकल वातावरणमैत्री कार्यका लागि साइकल महत्वपूर्ण रहेको नगर उपप्रमुख सुवेदीको भनाइ छ । पछिल्लो समय कोहलपुर नगर प्रहरी कोहलपुर क्षेत्रमा अनधिकृत रुपमा राखिएका होडिङ बोर्ड हटाउने अभियान थालेको थियो । यस्तै वर्षौंदेखि अव्यवस्थित रूपमा चलिरहेका व्यवसायलाई समेत व्यवस्थापन गर्दै आएको छ ।

यसैगरी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचान गरिएको छ । ती मध्ये ४ सय २८ जना महिला र १ हजार २ सय ३१ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अहिले उनीहरूले दैनिक दुई सिफ्टमा ड्युटी गरिरहेका छन् । नेपालगञ्ज र कोहलपुरसहित जिल्लाका सबै पालिकामा दैनिक रूपमा म्यादी प्रहरीहरू ड्युटीमा खटिरहेका देखिन्छन् । पछिल्लो समय बाँकेमा चिसो बढ्दै गएको छ । बाँकेमा बिहान र साँझको समयमा चिसो बढ्दै जान थालेको हो । तर उनीहरूले साधारण पोसाकमै ड्युटी गरिरहेका देखिन्छन् । रातीको समयमा पनि विभिन्न स्थानमा उनीहरू ड्युटी गरिरहेका छन् । एक म्यादी प्रहरी चिसो बढ्दे जान थाले पनि साधारण पोसाकमै ड्युटी गरिरहेको बताउँछन् । ती म्यादी प्रहरीका अनुसार रातीको समयमा ड्युटी गर्दा चिसो हुन्छ । न्यानो कपडा नहुँदा आफूहरूलाई समस्या भइरहेको छ ।

कोहलपुरमा खटिएकी एक महिला प्रहरी ड्युटी खटाउँदा आफूहरूलाई स्वीटर, कपडा, दुई जोर मोजा र जुत्ता दिएको बताउँछिन् । बिहीबार साँझ मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन, ‘दिनभर नेपालगञ्ज गएको थिए । विष्फोटक पदार्थ पहिचान तथा जोखिमसम्बन्धी प्रशिक्षण थियो । अहिले ड्युटी जान लागेको छु । १० बजेसम्म ड्युटी हुन्छ ।’ बाँकेमा महिला प्रहरीहरू राती १० बजेसम्म ड्युटी गर्छन् । पुरुषहरू भने रातभर ड्युटी गर्दै आएका छन् । उनीहरू माग छ, ‘हामी राज्यको कामको लागि खटिएका छौँ । अहिलेसम्म राम्रै सुविधा पाइरहेका छौँ । तर चिसो बढ्दै गए पनि न्यानो कपडा नहुँदा समस्या भएको छ । न्यानो कपडासहित ज्याकेटको व्यवस्थापन राज्यले गरेको भए राम्रो हुने थियो ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी म्यादी प्रहरी पूर्ण रूपमा निर्वाचन केन्द्रित भएको बताउँछन् । उनका अनुसार म्यादी प्रहरीले अहिले दैनिक आठ घण्टा ड्युटी गरिरहेका छन् । हामी चुनाव केन्द्रित हुँदैछौँ । गाउँगाउँमा गस्तीमा समेत खटिएका छन् । अधिकारीले नेपाल प्रहरीले प्राप्त गरिरहेको पोसाक नै उपलब्ध गराइएको बताए । उनी भन्छन्, ‘पायक पर्ने स्थानमा खटाएका छौँ । मंसिर १ बाट मतदान केन्द्रमा खटिन्छन् । विस्तारै चिसो बढ्दैछ । धेरै चिसो नभएकोले अहिलेको पोसाकले धान्छ । धेरै चिसो हुने अवस्थामा राज्यले व्यवस्थापन गरिहाल्छ ।’

प्रतिक्रिया