सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको चौकुने गाउँपालिका–२ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको गाडी दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडी सोमबार बिहान दुर्घटना भएको हो । उकालो सडक भएका कारण बोलेरो अगाडि बढ्न नसकेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका उम्मेदवार भिमबहादुर शाही, प्रदेश सभा (१) का उम्मेदवार सूर्यबहादुर खत्री र प्रदेशसभा (२) का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचारप्रसारमा बोलेरो गएको थियो । गाडी दुर्घटना हुँदा मानवीय क्षति नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया