संविधान रक्षाका लागि गठबन्धन : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् ।

आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लहडमा पटक–पटक संसद विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताए ।

‘अहिलेको सरकार गठबन्धनको सरकार हो’, उनले भने, ‘गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’ वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ ।

नेकपा एमालेका अध्यक्षओलीले दुई पटक संसद विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘संसद विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले’, देउवाले भने, ‘संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।’

डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिए ।

‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ’, उनले भने, ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छौँ, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।’

उनले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सक्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मुलुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताइन् ।

‘संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ’, उनले भनिन्, ‘संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।’

कार्यक्रममा गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया