बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी मंसिर ४ परिवर्तनको बिगुल फुक्ने दिन भएको बताएका छन् । त्यसको लागि आफ्नो पार्टीले जित्नुपर्ने र जनतालाई सहयोग गर्न उनले आह्वान गरे ।
कोहलपुरमा भएको चुनावी सम्बोधन गर्दै उनले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले बहुमत दिने आशा व्यक्त गरे । ‘तपाईंहरु हामीलाई संसदमा पुर्याउनुहोस्, हामी देश परिवर्तन गर्नेछौँ, देशको मुहार फेर्नेछौँ, त्यसको लागि पाँच वर्ष कुर्ने छुट हामीलाई छैन, मंसिर ४ नै उपयुक्त अवसर हो ’, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी मात्र जनताको पार्टी भएको भन्दै लामिछानेले जनताका समस्या समाधान र देश विकासको नेतृत्व अब आफूले गर्ने उद्घोष गरे ।
आफू १४ वर्ष विदेश बसेको र त्यहाँको दुःख आफूले बुझेको भन्दै अब कुनै पनि नेपाली विदेश जान नपर्ने अवस्थाको सिर्जना गर्नको लागि सबै नेपाली एकजुट हुनुपर्नेमा लामिछानेले जोड दिए । उनले आफू मात्रै जित्न नआएको भन्दै घण्टीबाहेक सयौँ जनतालाई जिताउन चुनावी मैदानमा आएको बताए ।
साथै, सबैलाई जिताउन र यसैपटक आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्ने उनको दाबी थियो । पूर्वपत्रकार समेत रहेका लामिछानेले चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । अहिले यसपटक आफ्नो पार्टीले जित्नै पर्ने र जनता नै जिताउने आशा समेत व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेमा तीन प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ । क्षेत्र नम्बर १ मा आनन्दबाबु काफ्ले उक्त पार्टीको उम्मेदवार छन् । लामिछानेले आइतबार नेपालगञ्जको चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।
नेपालगन्ज
प्रतिक्रिया