भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरे ।
एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका खाँणले आज भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए । ‘तीनदलीय गठबन्धन प्रतिगमनको पक्षमा छ, प्रतिक्रिया गर्न सक्छ, तर यसले देश चलाउन सक्दैन’, उनले भने ।
पञ्चायतविरुद्ध विसं २०४६ मा र २०६२–६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र वाममोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिकमाथि दमन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।
लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँचदलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे ।
व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्ने उनको भनाइ छ । उनले युवामाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवा ऊर्जाशील भएर उत्पादनमा जोडिनुपर्नेमा जोड दिए । खाणले अग्रगमन र रूपान्तरणको पक्षमा काम गर्न तरुण युवालाई आग्रह गरे ।
कार्यक्रममा पाँचदलीय गठबन्धनका तर्फबाट प्रदेशसभा–३ (१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवामा देखिएको उत्साहले पाँचदलीय गठबन्धनको जित सुनिश्चित जस्तै भएको दाबी गरे ।
उनले देशमै रोजगारीका अवसर सिर्जना गरेर युवालाई आत्मनिर्भर बनाउने स्पष्ट योजना र कार्यान्वय गर्न सक्ने क्षमता आफूहरूसँग मात्र भएको जिकिर गरे ।
उनले गृहमन्त्री खाँण विगतमा तरुण दलको अध्यक्ष भएपछि धेरै युवामा आशाको किरण पलाएको र अहिले पनि मन्त्री खाँणले युवाको विश्वासमा कमी आउन नदिएको बताए ।
प्रतिक्रिया