लुम्बिनीमा ‘हेभिवेट’बीच रोचक प्रतिष्पर्धा

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन

नेपालगञ्ज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमार्फत लुम्बिनी प्रदेशबाट कुल ७८ जना जनप्रतिनिधि चुनिँदैछन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २६ जना र प्रदेशसभा सदस्यतर्फ ५२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । लुम्बिनी प्रदेशमा यसपटक कुल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक लुम्बिनी प्रदेशमा ‘हेभिवेट उम्मेद्वार’बीच निकै रोचक प्रतिष्पर्धा हुने देखिएको छ । यस पटक निर्वाचनमा स्वतन्त्रसहित एउटै पार्टीमा लामो समय सहकार्य गरेका सहकर्मीबीच पनि प्रतिष्पर्धा हुँदै छ । यसपटक सत्ता गठबन्धनका साँझा उम्मेदवारदेखि लिएर संघीय सरकारका मन्त्री, पूर्वजनप्रतिनिधि र पत्रकारसम्म आमनेसामने छन् ।

प्रमुख राजनीतिक दलका मुख्य नेतृत्वदेखि पूर्व तथा वर्तमान मन्त्रीसमेत चुनावी प्रतिष्पर्धामा छन् । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओबादी केन्द्रका उपमहासचिव वर्षमान पुनदेखि लिएर संघीय सरकारका सहरी विकासमन्त्री मेटमणी चौधरी, युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराजसम्म प्रतिस्पर्धामा छन् ।
यसका अतिरिक्त संघीय सरकारका पूर्वमन्त्रीहरू गोकर्ण विष्ट, रामकुमारी झाँक्री, निवर्तमानमन्त्री मोहम्मद इस्तियाक राई पनि चुनावी मैदानमा होमिएका छन् । प्रमुख पार्टीका केही महिला नेतृहरू पनि यसपटक चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबाट १० जना पूर्वसहकर्मी पनि आमनेसामने हुँदैछन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल र नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माबीच रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा रोचक भिडन्त हुँदैछ ।

पूर्वसहकर्मीसमेत रहेका विश्वकर्मा एमाले र भुसाल गठबन्धनबाट चुनाव लड्न लागेका हुन् । भुसाललाई एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएपछि सत्तारूढ गठबन्धन दलहरूले भुसाललाई सहयोग गर्ने निर्णय लिएका हुन् । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका भुसाल पार्टी नै परित्याग गरेर गठबन्धनको साँझा उम्मेद्वार बनेका हुन् ।

यसैगरी रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेद्वार बनेका छन् । उनका प्रतिष्पर्धी थिए, कुनैबेला युवा मोर्चा सम्हालेका राजु गुरुङ । एकीकृत समाजवादीका गुरुङ सत्ता गठबन्धनका साझा उम्मेद्वार बनेका थिए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षसमेत रहेका गुरुङको उम्मेद्वारी भने खारेज भएको छ । बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेद्वारी खारेज गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णयविरुद्घ गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले पनि निर्वाचन अधिकृतको कार्यालयकै निर्णयलाई सदर गरिदिएको थियो । गुरुङको उम्मेद्वारी खारेज भएपछि त्यसको प्रत्यक्ष फाइदा पौडेललाई पुग्नु अनुमान गरिएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा पनि दुई पूर्वसहकर्मीबीच भिडन्त हुँदै छ । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे र नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेबीच रोचक भिडन्त हुन लागेको हो । ठाकुर पार्टी इन्चार्जसमेत हुन् भने पाण्डे प्रदेश अध्यक्ष हुन् । पाण्डे सातौँपटक निर्वाचन लड्दै छन् भने गैरे पहिलोपटक निर्वाचन लड्न लागेका हुन् ।
यसैगरी दाङ क्षेत्र नम्बर १ मा पनि रोचक चुनावी प्रतिष्पर्धा हुँदै छ । त्यहाँ नेकपा एमालेबाट शान्ता चौधरी पहिलोपटक संसदीय निर्वाचन लड्दैछिन् । आफ्नै पूर्वनेता मेटमणि चौधरीसँग उनको प्रतिस्पर्धा हुँदै छ । सहरी विकासमन्त्री चौधरी सत्ता गठन्धनको साझा उम्मेद्वारका रूपमा चुनाव लड्दैछन् ।

सोही निर्वाचन क्षेत्रबाट एमाले परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सदस्य गंगा चौधरी पनि उम्मेद्वार बनेकी छन् । यी तीनै जना उम्मेद्वार विगतमा थारू समुदायका लागि भएका संघर्षमा पनि सहकार्य गरेका सहयात्री हुन् ।
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षले पाएको मतभार अनुसार, सत्ता गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले २९ हजार ७ सय ५७, एमालेले २७ हजार २५, नेकपा माओवादी केन्द्रले १९ हजार २ सय ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३ सय ५०, नेकपा एकीकृत समाजवादीले २ हजार ३ सय ४१ र जनता समाजवादी पार्टीले ८ सय ७ मत पाएका थिए ।


दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ पूर्वमन्त्री रेखा शर्माबीच प्रतिष्पर्धा हुँदैछ । लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत रहिसकेका पोखरेल प्रत्यक्ष निर्वाचनमा खासै सफल नेता होइनन् ।

पोखरेल ०५१ सालको निर्वाचनबाहेक प्रतिनिधिसभाको अन्य निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका छैनन् । उनी ०६४ सालमा समानुपातिक सांसद बनेका थिए भने ०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसबाहेकका सबै निर्वाचनमा उनले पराजय बेहोरेका छन् । माओवादी नेतृ शर्मा भने पहिलोपटक प्रत्यक्ष निर्वाचनमा भाग लिँदैछिन् । उनी ०७० सालको दोस्रो संविधानसभा र ०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । त्यसपछि शर्मा सामान्य प्रशासन मन्त्रीसमेत बनिन् ।


यसैगरी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक दुई पार्टीका सचिव तथा पूर्वसहकर्मीबीच भिडन्त हुँदैछ । यस क्षेत्रमा एमाले सचिव गोकर्णराज विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा छन् । दुवै जना पूर्वमन्त्री हुन् । पूर्वसहकर्मीसमेत रहेका विष्ट र झाँक्रीबीच रोचक प्रतिष्र्धा हुने देखिन्छ ।

अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट चर्चामा आएकी झाँक्री ०७४ सालको निर्वाचनमा उनै विष्टको चुनावी अभियानमा थिइन् । एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीकी सचिव झाँक्री यो निर्वाचनमा बलियो नभए पनि गठबन्धन दलको भरोसामा चुनावमा होमिएकी छन् । त्यहाँ तुलनात्मक रूपमा नेकपा एमाले बलियो देखिन्छ ।


यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा पनि रोचक प्रतिस्पर्धा हुँदै छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र कांग्रेसका विनोद चौधरी गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । उक्त निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचन एमालेको चिन्हबाट लडेर त्रिपाठीले जितेका थिए । यसपटक उनले सूर्य चिन्हबाट चुनाव लड्न अस्वीकार गरेका छन् ।

रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सत्तारूढ गठबन्धनबाट निर्वाचन लड्दैछन् । प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ सालमा पनि निर्वाचित भएका थिए । उनी ०६४ सालको संविधानसभा निर्वाचनमा भने ललितपुर–१ बाट निर्वाचित भएका थिए । प्रदेशसभातर्फ भने प्रदेश (क)बाट माओवादीका जोखबहादुर महरा र (ख)बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा समेत गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदै छ । क्षेत्र नम्बर १ बाट संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज बाम लोकतान्त्रिक गठबन्धनबाट दोस्रोपटक चुनाव लड्दैछन् ।

उनी यही क्षेत्रबाट ०७४ सालमा पनि निर्वाचित भएका थिए । त्यसबेला नेपाली कांग्रेस उनको मुख्य प्रतिष्पर्धी थियो । यसपटक भने उनलाई कांग्रेसले पनि समर्थन गरेको छ । यसपटकको मुख्य प्रतिष्पर्धी नेकपा एमाले छ । ०७४ सालमा उनले एमालेकै समर्थनमा निर्वाचन जितेका थिए ।


क्षेत्र नम्बर २ मा भने निवर्तमानमन्त्री मोहम्मद इस्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणा मुख्य प्रतिष्पर्धी हुन् । सुशील कोइरालाको क्षेत्र रहेको निर्वाचन क्षेत्र नम्बर २ मा उनको निधनपछि नेपाली कांग्रेसले जित्न सकेको छैन ।


यसअघि ०७४ सालमा यो निर्वाचन क्षेत्रबाट राईले चुनाव जितेका थिए । धवलशम्शेर भने नेकपा एमालेको समर्थनमा पहिलोपटक संसदीय निर्वाचन लड्दैछन् । राई र धवलशमशेर दुवै लोकप्रिय नेता हुन् । उनीहरू दुबै निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी देखिएका छन् ।

सुदीप भने सत्ता गठबन्धनको बलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न चाहन्छन् । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र नेकपा एमालेका किस्मतकुमार कक्षपति मुख्य प्रतिष्पर्धी छन् । बर्दिया १ बाट नेपाली कांग्रेसका नेता संजय गौतम फेरि चुनाव लड्दैछन् । उनी ०७४ सालमा बामदेव गौतमलाई हराउँदै निर्वाचित भएका थिए ।

प्रतिक्रिया