जवरजस्ती करणीपछि किशाेरीकाे हत्या प्रयास गर्ने युवक पक्राउ

सल्यान । सल्यानमा जवरजस्ती करणी पछि हत्याको प्रयास गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका– ३ का २० वर्षीय रेवन्त बुढालाई जवरजस्ती करणीपछि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुढाले गत कात्तिक १२ गते बाँके जिल्लाबाट ललाइफकाई बिहे गर्छु भनेर बनगाड कुपिण्डे १ माल्पेको जंगलमा लिएर जवरजस्ती करणी गरेका थिए । जवरजस्ती करणीपछि हत्या गर्ने नियतले किशोरीलाई मरणसन्न हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

कुटपिटबाट किशोरी बेहोस भएपछि मृत्यु भइसकेको भनेर रेवन्तले किशोरीलाई जंगलमा छोडेर भागेका थिए । किशोरीको होस खुलेपछि नजिकै रहेको एकजनाको घरमा गएर गुहार मागेपछि एक जना महिलाले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

सूचना पाउने बित्तिकै प्रहरी परिचालन गरी घटनाको अनुसन्धानका क्रममा आरोपित बुढालाई आइतबाार सल्लीबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी सोही दिन काठमाडौंका लागि बसको टिकट लिइसकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

किशोरीका बुवाले जवरजस्ती करणी तथा ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि प्रहरीले जवरजस्ती करणी गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख भइरहेको प्रहरीले जनाएको छ । किशोरीको अनुहार, टाउको लगायतका गम्भिर चोट लागेको छ ।

प्रतिक्रिया