कैलाली । सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ ।
पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । उक्त घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।
निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ । मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
सूर्य भगवानको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ । देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिँगारपटार गरिएको छ ।
मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ । छठ पूजाका लागि रु ११ लाख लाग्ने अनुमान गरिएको छ ।
यसपाली कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको वर्तालुहरु बताउँछन् । यो वर्ष कोभिड–१९ को संक्रमणको महामारी न्यून भइसकेकाले वर्तालु र दर्शनार्थीहरुको भीडभाड निकै बढ्न सक्ने आयोजकले अनुमान गरेको छ ।
यस पर्वको प्रारम्भ हिजो वर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन् । छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गर्ने गरिन्छ । विगत लामो समयदेखि छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया