कार्तिक १८ बाट उम्मेदवारले प्रचारका कार्य गर्न पाउने

काठमाडाैं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् । आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आयुक्त भण्डारीले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनारलगायतका प्रचारबाजी गर्न नहुने बताए । उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमा भित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताए ।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए ।

‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो । १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ । उहाँहरुले कोण सभा, आम सभा, र्याली, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ । २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ । मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा मौन अवधि भनेर हामीले देखेनौँ’, आयुक्त भण्डारीले भने, ‘यो भन्दा अघि धेरै पटक मौन अवधि भनेर राखिँदो रहेछ । संविधान, ऐन र नियमले नदेखेको नचिनेको मौन अवधि भनेर भन्ने त्यो शब्दान्तर गरेर राखेको शब्दलाई हामीले हटाएर, हामी आफैँ अहिले मौन बसेको अवधि हो । ४ गते निर्वाचन हुँदैछ । त्यसपछि एक हप्ताको समय मत गणना र घोषणा हुन्छ ।’ आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताए ।

प्रतिक्रिया