समानुपातिकतर्फका ४ सय उम्मेदवारको उम्मेदवारी खारेज गर्दै आयोग

काठमाडाैं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फका ४ सय उम्मेदवारको उम्मेदवारी खारेज गर्ने तयारी गरेको छ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण पेस नगरी जरिवानामा परेकाहरू समानुपातिकतर्फको बन्दसूचीमा रहेकाले उनीहरूको उम्मेदवारी खारेज गर्न लागेको हो ।

आयोगले कात्तिक ५ सम्म जरिवाना बापतको रकम बुझाएमा उम्मेदवारी कायम गर्ने निर्णय गरेको थियो । तर सो अवधिसम्म ३७ जनाले मात्र जरिवाना रकम बुझाएका छन् । गत स्थानीय तहका १ लाख २३ हजार ६ सय २३ उम्मेदवारले समयमा खर्चको विवरण नबुझाएपछि जरिवानामा परेका थिए ।

तीमध्ये आयोगमा हालसम्म १२५ जनाले जरिवाना बुझाएका छन् । जरिवाना बुझाउनेमध्ये ३७ जना समानुपातिकको बन्दसूचीमा छन् । जरिवाना रकम बुझाएकाहरूको उम्मेदवारी आयोगले कायम गरेको छ ।

बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नाम कात्तिक ९ गते सार्वजनिक गर्ने आयोगको कार्यातालिका रहेकाले त्यसअघि नै ती उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्न लागिएको हो । त्यसैगरी बन्दसूचीमा रहेका केही उम्मेदवारहरूमाथि उजुरीसमेत परेको छ । ती उजुरीमाथि छानबिन गरी अयोग्य रहेमा उनीहरूको समेत उम्मेदवारी खारेज हुने आयोगले जनाएको छ ।

बन्दसूचीमा रहेका २७ उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेको थियो । गत असोज २ र ३ गते दलहरूले बन्दसूची पेस गरेका थिए । प्रतिनिधिसभातर्फ प्रतिनिधिसभाको समानुपातिकतर्फ २४०३ र प्रदेशससभाको समानुपातिकतर्फ ४ हजार ५३ गरी ६ हजार ४ सय ५६ जना बन्दसूचीमा छन् ।

प्रतिक्रिया