मतपत्र छपाइ र ढुवानीको चटारो

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार, तिहारअघि थप ६ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका जिल्लाको मतपत्र भने तिहारपछि ढुवानी गरिने छ ।

आयोगका अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म कुल १ करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । त्यसमध्ये प्रदेशसभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधिसभाका लागि ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।

हालसम्म प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोल्पा, प्यूठान, दाङ, रुकुमपूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया, नवलपरासी पश्चिमलगायतका जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए ।
मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ भने सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको छ ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नु पर्नेछ । आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ ।

प्रतिक्रिया