प्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्म चुनावी मैदानमा

सुदूपश्चिममा आम निर्वाचन

धनगढी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै छ । निर्वाचनको मिति नजिकिएसँगै सुदूरपश्चिम प्रदेशमा पनि चुनावी रौनक छाउन थालेको छ । उम्मेदवारहरु आ—आफ्नो चुनावी एजेण्डा लिएर मतदाता रिझाउन लागिपरेका छन् । विशेषगरी ठुला राजनीतिक दलहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सुदूरपश्चिम प्रदेशमा थुप्रै चर्चित अनुहार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभाको १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन सँयुक्त मोर्चा बनाएर चुनावी अभियानमा होमिएको छ ।

यसैगरी नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको छ । सुदूरपश्चिम प्रदेशका अन्य निर्वाचन क्षेत्रहरुमा भने एमाले एक्लै चुनावी मैदानमा ओर्लिएको छ । सुदूरपीश्चम प्रदेशमा प्रधानमन्त्री र पूर्वमन्त्रीदेखि लिएर बहालवाल मन्त्रीसम्म चुनावी मैदानमा ओर्लिएका छन् । त्यसैले पनि सुदूरपश्चिम प्रदेशकाका केही निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने अनुमान गर्न थालिएको छ । डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री देउवाका मुख्य प्रतिष्पर्धीको रुपमा नेपाली कांग्रेस बीपीका कर्ण मल्ल रहेका छन् । देउवालाई सत्ता गठबन्धनको साथ रहेको छ भने मल्ललाई नेकपा एमालेको साथ रहने सहमति भए पनि पछिल्लो समय उक्त सहमति टुटेको छ । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । मल्ल यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुराबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए भने देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अहिले फरक–फरक पार्टीमा रहेकाले देउवा र मल्ल दुबै प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । यसैगरी एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाबाट ‘तपाइँ बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हप्की खाएर चर्चामा आएका सागर ढकाल पनि देउवाका प्रतिष्पर्धी बनेका छन् ।

यसैगरी डोटीमा पनि रोचक प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमहादुर आले डोटीबाट चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा आले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । मन्त्री हुँदा आफ्नो काम र ब्यवहारका कारण पटक–पटक चर्चामा आउने गरेका आलेले यसपटक नेकपा एमालेकी नेतृ गौरी ओलीसँग चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । आले गत निर्वाचनमा भने बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा पनि दुई हेवीवेट उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका प्रदेश सह—इञ्चार्ज तथा स्थायी कमिटी सदस्य कर्ण थापा चुनावी मैदानमा रहेका छन् । यी दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

यसैगरी बझाङमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी चुनावी मैदानमा छन । उनका प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका नेता ऐन महर रहेका छन् । दार्चुलामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दिलेन्द्रप्रसाद बडु चुनावी मैदानमा छन् । उनका प्रमुख प्रतिष्पर्धीका रुपमा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् ।

यसैगरी बैतडीमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र कुँवर उम्मेदवार बनेका छन् । उनका प्रमुख प्रतिष्पर्धी नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी रहेका छन् । सुदूरपश्चिम प्रदेशमा चर्चामा रहिरहने नेकपा एमालेका नेता भीम रावलले भने यसपटक टिकट पाएका छैनन् ।

रावलको निर्वाचन क्षेत्र अछाम १ बाट माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशका पूर्वमन्त्री झपट बोहराले प्रतिनिधिसभाको टिकट पाएका छन् । बोहराका मुख्य प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर रहेका छन् । कुँवर सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।


यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई चर्चित अनुहार चुनावी मैदानमा उत्रिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवै पूर्वमन्त्री बीरबहादुर बलायर र नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिष्पर्धी रहेका छन् ।

यी दुवै पूर्वमन्त्री चौथो पटक निर्वाचन लड्दैछन् । लेखराज गत निर्वाचनमा बाम गठबन्धनको सहयोगमा नेकपा माओवादी केन्द्रबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नेकपा विभाजन भएपछि भने भट्टले एमाले रोजेका थिए । यी दुबै पूर्वमन्त्रीबीच पनि कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

कैलालीमा त्रिपक्षीय भिडन्त

यसैगरी सधैं चर्चामा रहिरहने कैलाली क्षेत्र नम्बर ५ मा त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गर्न थालिएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त चुनावी मैदानमा छन् । एमालेबाट पूर्वमन्त्री नारदमुनि राना उनका प्रतिष्पर्धी रहेका छन् ।

नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्वमन्त्री पुष्करनाथ ओझाले पनि क्षेत्र नम्बर ५ बाटै स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । ओझालाई नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको थियो । यसअघि बाम गठबन्धनबाट एमालेका राना यस क्षेत्रबाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवालाई पराजित गर्दै विजयी भएका थिए ।
यसैगरी कैलाली क्षेत्र नम्बर १ मा पनि त्रिपक्षीय प्रतिष्पर्धाको आँकलन गरिएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरी उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट तपेन्द्र रावल चुनावी मैदानमा छन् । रावल टीकापुर नगरपालिकाका निवर्तमान मेयर हुन ।

नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ पनि कैलाली क्षेत्र नम्बर १ बाटै चुनावी प्रतिष्पर्धामा छिन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाहरुमा नागरिक उन्मुक्ति पार्टीले प्रमुख, अध्यक्ष÷उपाध्यक्षसहित बहुसंख्यक वडाहरु जितेको छ ।
उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । यी दुबैको लडाईमा एमालेका उम्मेदवार बाजी मार्ने दाउमा देखिएका छन् । उक्त क्षेत्रबाट गत निर्वाचनमा राजपाबाट उम्मेदवार बनेर भारी मतान्तरले चुनाव जितेका रेशम चौधरी टीकापुर घटनाको मुख्य योजनाकार भएको अभियोगमा डिल्लीबजार कारागारमा रहेका छन् ।

तीन पूर्वमन्त्री चुनावी मैदानमा

कञ्चनपुरमा तीन जना पूर्वमन्त्री सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा सत्ता गठबन्धनबाट तीन पूर्वमन्त्री उम्मेदवार बनेका हुन् । नेकपा माओवादी केन्द्रकी नेतृ एवं पूर्वमन्त्री वीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकी उम्मेदवार रहेकी छन् ।

मगर सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन । मगरका प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका नेता तारा लामा तामाङ रहेका छन् । तामाङ प्रदेशका पूर्वमन्त्री हुन् । गत निर्वाचनमा बाम गठबन्धनबाट संघीय संसदमा भारी मतले विजयी भएकी मगर त्यसैको निरन्तरताको दाउमा छिन् ।
यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँद सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका छन् । साउँदका मुख्यप्रतिष्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य नरबहादुर धामी छन् ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार रहेका एमालेका उम्मेदवार धामीले साँउदलाई पराजित गरेका थिए । नर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन् । उनका मुख्य प्रतिष्पर्धी नेकपा एमालेकी नेतृ निरुदेवी पाल रहेकी छन् । पाललाई राप्रपाको साथ रहेको छ । पाल यसअघि एमालेबाट समानुपातिक संघीय सांसद थिइन् ।

दलका आ–आफ्नै दाबी

निर्वाचन जित्नेमा भने दलका नेताहरुको आ–आफ्नै दाबी रहेको छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले आफ्नो दलका उम्मेदवारहरुले राष्ट्रिय स्वाधिनता, विकास र समृद्धि, राष्ट्रिय सामथ्र्यसहितको राजनैतिक शक्ति र राजनीतिक स्थिरता, सुशासन र समाजबादको मुद्दा लिएर जनतामाझ जाने भएकाले आफ्ना उम्मेदवारले निर्वाचन जित्ने दाबी गरे । उनले भने, ‘जनताले विकास र समृद्धि, राष्ट्रिय स्वाधिनताको पक्षमा लड्ने शक्तिलाई मत दिने भएकाले हाम्रा उम्मेदवारहरुले जित्नु हुन्छ ।’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले संविधानको रक्षा र लोकतन्त्रको संरक्षणको लागि गठबन्धन भएकाले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नेमा कुनै शंका नभएको बताए । उनले भने, ‘यी कुरालाई लिएर जनतामाँझ जान्छौँ र अहिलेको परिस्थिति बारे जनतालाई बुझाउछौँ यो पनि गठबन्धनका उम्मेदवार चुनाव जित्ने आधार हो ।’

सत्ता गठबन्धनका उम्मेदवारहरु लोकप्रिय रहेको दाबी पनि उनले गरे । उनले भने, ‘गठबन्धनको प्रतिबद्धता सकरात्मक छ, हाम्रा उम्मेदवारले चुनाव जित्नेमा विश्वस्त छु ।’ विकास र समृद्धि पनि गठबन्धनका उम्मेदवारले जितेमात्रै प्राप्त हुने भएकाले जनताले गठबन्धनलाई जिताउने उनले दाबी गरे ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीले नेपालको राजनीतिको वैकल्पिक नेतृत्व गर्ने भएकाले आफ्नो पार्टीलाई जनताले रोज्ने बताइन् । पहिचानवादी बहुसंख्यक बसोबास गर्ने क्षेत्र भएकाले आफ्नो जित हुने उनको दाबी छ ।

पहिचान सहितको संघीयता, प्रत्यक्ष कार्यकारी शासकीय प्रणालीलगायतको एजेण्डा लिएर आफ्नो पार्टी चुनावी मैदानमा भएकोले जनताले यी एजेण्डालाई साथ दिने उनले बताइन् । उनले संसदीय व्यवस्थामा एकै अनुहार लामो समयसम्म देखिरहेको, एकै अनुहार लामो समयसम्म रहने तर, सफल नहुने भएको र जनताले परिवर्तन चाहने भएकाले पनि आफ्नो पार्टीका उम्मेदवारलाई मत दिने दाबी गरिन् । राजनीतिक दलहरुले जेजस्तो दाबी गरे पनि कसले जनताको मन जित्न सक्छ र जित हासिल गर्छ भन्ने कुरा निर्वाचनपछिको मतपरिणामले नै देखाउने छ ।

प्रतिक्रिया