निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शान्ति सुरक्षाबारेमा राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग शुक्रबार छलफल गरेको छ । छलफलमा आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले भने शान्ति सुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउन सक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीका बारेमा जानकारी गराएका थिए । छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरु मिहिरकुमार ठाकुर, मनोज दुवाडी, लिली थापा र कामु सचिव मुरारिप्रसाद खरेलको सहभागिता रहेको थियो ।

छलफलमा तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसँगै सुरक्षा निकायका अधिकृत तथा आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया