हाते ट्याक्टप्रति रुकुम पूर्वका किसानको आकर्षण

रुकुम पूर्व । किसानहरु हिजोआज खेतिपातिमा व्यस्त छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रका किसानहरु बर्खे बाली मकै भित्र्याउन र मध्य पहाडी लोकमार्ग आसपासका किसानहरु बाँझो जमिन जोत्न र धान बाली भित्र्याउन व्यस्त देखिन्छन् ।

सदरमुकाम रुकुमकोट र मध्य पहाडी लोकमार्ग आसपासका किसानहरुलाई यतिबेला बाँझो जमिन जोत्ने र धान काट्ने चटारो छ । यो क्षेत्रका किसानले यसअघि नै बर्खे बाली मकै भण्डारण गरिसकेका छन् । यस्तै माथिल्लो क्षेत्रका किसानहरुलाई मकै, भटमास, सिमी र कोदो भण्डारण गर्न भ्याइनभ्याइ छ ।

तर, जिल्लाका बेसी क्षेत्रमा कृषि कर्म गर्दै आइरहेका किसानहरु बाँझो जमिन जोत्ने चटारोमा छन् । यातायाताको सुविधा पुगेका र समथल जमिनमा यतिखेर किसानहरुको सारथी हाते ट्याक्टर बनेको छ । गएका वर्षहरुमा खेतबारिमा हेर्दा चारैतिर देखिने गोरु यस वर्ष न्युन संख्यामा देखिए ।

खेत जोत्न गोरुको सट्टा हाते टयाक्टर प्रयोग गर्ने गरिएको छ । समय र श्रम दुवै कम हुने हुदाँ आधुनिक कृषि औजारको प्रयोगमा जिल्लाका कृषक आर्कषित हुन थालेका स्थानिय दत्तबहादुर बुढाथोकीले बताए । आधुनिक औजारको प्रयोगले आफू प्रविधि केन्द्रित भएको उनको भनाई छ ।

गोरुको तुलनामा हाते ट्याक्टरले जमिन जोत्न छिटो तथा सजिलो हुने किसानहरुले बताएका छन् । कम खर्चमा धेरै जमिन जोत्न सकिने हुँदा पनि किसानहरुको आकर्षण आधुनिक औजारमा केन्द्रित भएको अर्का स्थानीय विमल बुढाले बताए ।

उनले भने, ‘गोरुले एक दिनमा जोतेर नसकिने जमिन हाते टयाक्टरले दुई–तीन घण्टामा जोत्छ, समय र श्रमको समेत बचत भएको छ ।’ अघिल्लो वर्ष गोरुले आफ्नो खेत जोत्दै आएका बुढाले यस वर्ष हाते ट्याक्टर ल्याएका छन् ।

उनले आफ्नो खेत सकेर पनि छिमेकीको बाँझो मार्न सघाइरहेको सुनाए । ट्याक्टरले जोत्दा एकै पटकमा माटो मसिनो हुन्छ, डल्ला आउँदैन । छेउ टुप्पा खन्नु पर्दैन, त्यसले गर्दा पनि सबै किसानहरुको रोजाईमा हाते ट्याक्टर परेको हो ।

ट्याक्टर धनीले प्रति घण्टा बाँझो जमिन जोतेवापत ७०० देखि ८०० रुपैयाँसम्म शुल्क लिने गरेका छन् । कम खर्चमा छिटोछरितो काम सकिने हुँदा पनि हाते ट्याक्टर निकै उपयोगी मानिएको छ । वर्ष दिनमा दुईदेखि तीन पटक खेतबारी जोत्न वर्षभरी गोरु पाल्ने जिल्लाका किसानले बिस्तारै गोरु पाल्न छोडेका छन् ।

गोरुको सट्टा उनिहरु दुहुनो भैँसी र गाई पाल्न सुरु गरेका छन् । गोरुको काम ट्याक्टरबाट हुन थालेपछि गोरु पाल्न छोडेको स्थानीय मदन बिसीले बताए । उनले गोरु बेचेर ट्याक्टर र दुहुनो भैँसी किनेका छन् ।

परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायिकरण गर्न एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले प्रविधि वितरण गरिरहेको छ । कार्यालयमा भएको उपलब्ध बजेट र कृषकको मागको आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिरहेको कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले बताए ।

आर्थिक वर्ष २०७७–०७८ देखि जिल्लामा ट्याक्टर वितरण थालिएको बस्नतेको भनाई छ । दुई वर्षको अवधिमा पशु पन्छी विकास कार्यालयले ३९ वटा हाते ट्याक्टर वितरण गरेको छ । उनका अनुसार सिस्ने गाउँपालिकाको ३, ५ र ६, भुमे गाउँपालिकाको ३ र ७ र पुथाउत्तरगंगा गाउँपालिकाको १० नम्बर वडाका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ ।

उनीहरुलाई ५० देखि ९० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो । कृषि कर्ममा लागेका किसानलाई आधुनकि कृषि प्रणालीमा जोड्न हाते ट्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया