साढे ६ दशअघिको चुनावी वाचा अझै उधारो !

कपिलवस्तु । निर्वाचनमा बाचा गरेर उम्मेदवारहरूले चुनाव जित्न थालेको साढे छ दशक बितिसक्यो तर जिल्लाको कृष्णनगर क्षेत्रका जनताको माग अझै पूरा भएको छैन । हरेक निर्वाचनमा उम्मेदवारको एउटै साझा एजेण्डा हुने गरेको छ, राप्ती नदीको पानी ड्राइभर्सन गरी सिँचाइ सुविधा कपिलवस्तुमा ल्याउने ।

‘ २०१५ को आमनिर्वाचनदेखि हाम्रो एउटै माग छ– सिँचाइको सुविधा चाहियो’, कृष्णनगर ननगरपालिका–२ का कृष्णगोपाल मिश्रले भने, ‘हाम्रो माग अझै पूरा हुनसकेको छैन, कुन पुस्ताको पालामा माग पूरा हुने हो थाहा छैन ।’ चुनावका बेला जनताको बीचमा मिठा–मिठा एजेण्डा देखाएर चुनाव जित्ने र जितिसकेपछि सबै हराउने गरेको मिश्र बताउछन् । ‘यहाँबाट चुनाव जितेर मन्त्री पनि भएका छन्’, मिश्रले भने, ‘नेताको जीवन फेरियो तर यस क्षेत्रको मुहार फेरिन सकेको छैन ।’

२०१५ को आम निर्वाचनमा तत्कालीन उम्मेदवार शिवप्रताप शाहको चुनावी एजेण्डा थियो– चन्द्रौटा, कृष्णनगर, बहादुरगञ्ज क्षेत्रमा राप्ती ड्राइभर्सन गरी सिँचाइको सुविधा पु¥याउने । शाह यही चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गएका थिए । यही एजेण्डालाई जनताले पत्याए, चुनाव जिताए, सिंहदरबार पठाए । त्यस बेला शाहले अर्थराज्यमन्त्रीसमेत हुने अवसर पाएनन् । ‘पछि पञ्चायतमा डा रुद्रप्रताप शाह माननीय भए । उनको उद्देश्य पनि सिँचाइ सुविधा पुर्याउने नै थियो’, बहादुरगञ्जका अशोक जयसवाल स्मरण गर्छन् ।

२०४६ को बहुदलपछि शाह परिवारबाटै अजयप्रताप शाह राजनीतिमा उदाए । उनले पनि राप्रपाबाट चुनाव जिते । त्यति मात्र होइन, २०६२÷६३ को जनआन्दोलनपछि देशमा लोकतन्त्र, गणतन्त्र आए पनि विभिन्न नेताहरूले यस क्षेत्रबाट चुनाव जिते । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अभिषेकप्रताप शाहले यसै क्षेत्रबाट चुनाव जितेर सभासद भएका थिए । त्यो बेला पनि उनको चुनावी नारा सिँचाइ, स्वास्थ्य र शिक्षा नै थियो ।

दोस्रो संविधानसभाको निर्वाचन २०७० मा भयोे । २०७० को निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाटै अभिषेकप्रताप शाहले नै चुनाव जिते । २०७४ मा शाहले नेपाली कांग्रेसबाट सङ्घीय चुनाव जिते । प्रतिनिधिसभा–३ रहेको यो निर्वाचन क्षेत्रका प्रदेशसभा ‘१’मा कांग्रेसबाट वीरेन्द्र कनौडियाले चुनाव जितेका थिए । प्रदेशसभा ‘१’ मा नेकपा (एमाले) का अर्जुन केसीले चुनाव जितेका थिए । आसन्न मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट अभिषेकप्रताप शाह, एमालेबाट मङ्गलप्रसाद गुप्ता, जनता प्रगतिशील पार्टीबाट ईश्वरदयाल मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रकाश रजौरिया चुनावी मैदान छन् ।

यहाँ चारजनाबीच प्रतिस्पर्धा हुने आकलन छ । कृष्णनगरका युवा सन्दीप जैयसवाल पटक–पटक चुनाव जिते पनि सोचेजस्तो विकास नभएको भन्दै निरास छन् । ‘न यहाँ सिँचाइको सुविधा छ, न यहाँ कलेज छ, न त यहाँ अस्पताल छ’, उनले भने, ‘रोजगारीको अवसर नहुँदा युवाहरू दैनिकरूपमा विदेश पलायन भइरहेका छन् ।’ चुनावको बेला उम्मेदवारले सिँचाइ सुविधा पु¥याउँछु भन्दै आएको २०१५ देखि भएको रोहित अहिरले स्मरण गरे । ‘नेताहरूले चुनाव जित्न थालेको साढे छ दशक भएको छ, तर यहाँ विकास के भएको छ ?’, उनले प्रश्न गरे, ‘अब मतदाता सचेत हुन जरुरी छ ।’

यो निर्वाचनमा पनि सिँचाइ सुविधा पुर्याउने बाचासहित उम्मेदवारहरू मतदाताको घरआँगनमा जान थालेका छन् । उम्मेदवारहरूको मुख्य एजेण्डा राप्ती नदीको पानी ड्राइभर्सनमार्फत कपिलवस्तु ल्याई सिँचाइ सुविधा पुर्याउने छ । विकासको दृष्टिले कपिलवस्तुको पश्चिम क्षेत्र जिल्लामै पछाडि छ । सिँचाइ, शिक्षा, स्वास्थ्य, बाटोघाटोमा जिल्लामै पछाडि रहेको क्षेत्र हालको प्रतिनिधिसभाको ३ नं क्षेत्र हो । यद्यपि विकासमा जिल्लामै पछाडि रहेको क्षेत्र भएता पनि कृष्णनगर भन्सार नाका यही क्षेत्रमा छ । वार्षिक अर्बौँको राजस्व राज्यलाई दिएको छ भने सबैभन्दा उद्योगधन्दा, कलकारखाना पनि यसै क्षेत्रमा छन् तर जनताको दैनिक र विकास निर्माण निकै पछाडि रहेको छ ।

यस क्षेत्रका प्रमुख व्यापारिक बजार कृष्णनगर, चन्द्रौटा र बहादुरगञ्ज हुन् । यी बजार अस्तव्यस्त छन् । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे बजारका विशेषताजस्तै छन् । न त यहाँ बसपार्क छ, न यहाँ फोहर व्यवस्थापन गर्ने डम्पिङसाइट नै छ । आसन्न निर्वाचनमा पार्टीभन्दा व्यक्ति हेरेर भोट दिने मनस्थितिमा अहिले मतदाता रहेका छन् ।

प्रतिक्रिया