प्युठानमा एक जनाको उम्मेदवारी खारेज, एकको फिर्ता

प्युठान । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मनोनयन दर्ता भएकोमा एक जनाको उम्मेदवारी खारेज भएको छ भने एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार हाम्रो नेपाली पार्टीबाट हरि पौडेलले मनोनयन फिर्ता लिएका छन् । प्रदेश क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका पौडेलले बुधबार उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत विरेन्द्र प्रकाश खड्काले जानकारी दिए ।

यसअघि मनोनयन दर्तामा रित नपुगेको भन्दै प्रतिनिधिसभामा वारेसनामा मार्फत स्वतन्त्र उम्मेदवारी दर्ता गाराएका रामप्रसाद आचार्यको उम्मेदवारी खारेज भएको छ ।

योसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कायम रहेका १६ जना उम्मेदवारको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत खड्काले बताए । प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट सूर्यबहादुर थापा र गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उम्मेदवारी परेको छ ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ मा एमालेबाट तुल्सीराम शर्मा र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट कृष्ण अधिकारीको उम्मेदवारी परेको थियो । प्रदेश क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट हरि प्रसाद रिजाल र गठबन्धनबाट नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा तर्फ दानप्रशाद सुवेदी र प्रदेशसभा क्षेत्र नम्बर २ मा माधव केसीको स्वतन्त्र उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा होमबहादुर बुढाथोकी मगरले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश क्षेत्र नम्बर १ मा गोपालनाथ योगी र प्रदेश क्षेत्र नम्बर २ मा लालविर घर्तिमगरले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । नेकपा मालेबाट प्रतिनिधिसभा सदस्यमा माधवसिंह केसीले मनोनयन दर्ता गराएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधिसभामा मनबहादुर पुन, प्रदेश क्षेत्र नम्बर १ बाट नुवा घर्तिमगर र क्षेत्र नम्बर २ मा रुपलाल बुढामगरको मनोनयन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकजना कृष्णप्रसाद पोख्रेलले प्रतिनिधिसभामा उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय प्युठानले जानकारी दिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया