बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बुधबार सदरमुकाम चैनपुरमा रहेको जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको हो । मुख्य निर्वाचन कार्यालयको स्थापना कार्यक्रममा जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रशाद यादव, समन्वय समिति प्रमुख नरबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर, सुरक्षा निकाय प्रमुखलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन आयोग नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेपछि उम्मेदवारीको मनोनयन पत्र दर्ता यहीँ २३ गते विहान १० बजे देखि वेलुकी ५ बजे सम्मको समय तोकेको छ ।

उम्मेदवारको सुची प्रकाशन २३ गते बेलुकी ७ बजे गरिने छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सदस्य निर्वाचन २०७९ मा निर्वाचन आयोगबाट मिति २०७९ भदौ ३१ मा स्वीकृत मतदाता नामावली अनुसार बझाङमा १३५ मतदान स्थल रहेका छन् । त्यस्तै, १८४ मतदान केन्द्र रहेका छन । जिल्लामा मतदान गर्नेको सँख्या १ लाख २२ हजार ३ सय ७६ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल गौतमले जानकारी दिए ।

प्रतिक्रिया