संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्नु : अध्यक्ष तिमिल्सिना

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गरे । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उनले निर्देशन दिए । त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गरे । ‘पैसाको मलाई लाग्छ, समस्या हुँदैन । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लान मिल्ने जति लागौँ । सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्नेगरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस्’, उनले भने, ‘सेकेण्ड फेजको लागि छिटो गरीकन टेन्डरमा लानुपर्‍यो । समय बढ्दा लागत पनि बढ्छ अनि उतातिर चाहिँ भाडा पनि तिरिरहनुपर्ने । संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहेपनि दुईवटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भनेपनि हामी बानेश्वर जानु परेन नि । त्यो छिटो शुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।’

अध्यक्ष तिमिल्सिनाले कुनै पनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तीब्रता दिनुपर्ने बताए । उनले सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा जोड दिए ।

कुल ५ अर्ब २ करोड रुपैयाँमा वि.सं.२०७६ असोज १६ गते संघीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भएपनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएको छ ।

प्रतिक्रिया