सुकुम्बासीको घेराउमा यादव

जनकपुरधाम । भूमि अधिकारको प्राप्ती र चुरे संरक्षणको मागसहित पटकपटक आन्दोलन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानको आन्दोलनलार्ई जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारले नटेरेपछि अभियानीहरूले जसपा प्रमुख उपेन्द्र यादवलाई घेरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानका अभियानीहरूले बिहीबार उपेन्द्र यादव बसेको जनकपुरधामस्थित एक होटललाई घेराउ गरेका थिए । घेराउपश्चात अभियानीहरूलाई बोलाएर उपेन्द्र यादवले उनीहरूको माग र मुद्दा सम्बोधन हुने प्रतिवद्धता जनाएका छन् ।

उपेन्द्र यादवले अभियानीहरूलाई सम्बोधन गर्दै आफूहरू पनि आन्दोलनबाट नै आएको हुनाले आन्दोलनको मर्म थाहा भएको र चुनावपछि भूमि अधिकार र चुरे संरक्षणका लागि पार्टीबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भूमि अधिकारको सम्बन्धमा प्रदेश सरकारसँग कुनै अधिकार नरहेको र यसका लागि भूमि आयोग गठन गरिएको बताउँदै भूमि आयोगले खास गरी मधेसमा आफ्नो कर्तव्य पालना नगरेको प्रति आफूहरू पनि चिन्तित रहेको बताए । अध्यक्ष यादवले भूिमहीन तथा सुकुम्बासीहरूले गर्दै आएको आन्दोलन तत्काल स्थगित गर्न आग्रह गर्दै चुनावपछि अधिकार प्राप्तीका लागि आफनो पार्टीले पनि साथ दिने बताए ।

यता चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले जसपाकै नेतृत्वको सरकारले आफ्नो पटकपटकको आन्दोलनलाई बेवास्ता गरेकोले वाध्य भएर जसपा अध्यक्षलाई घेरेको बताए । उनले अध्यक्ष यादवले हाम्रो माग र मुद्दालाई राजनीतिक विषय बनाई सम्बोधनका लागि पहल गर्नुपर्ने बताए । चुनावी अभियानका लागि जनकपुरधाम पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिल्लाभरिका भूमिहीन सुकुम्बासी तथा चुरे अभियानीहरूले बिहान बिहान नै यादव बसेका होटल घेराउ गरेका थिए ।

प्रतिक्रिया